हेटौैंडाः मकवानपुरको थाहा नगरपालिकामा बिहीबारबाट जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुर तथा नाटेश्वर माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको हो ।
थाहानगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नाटेश्वर माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । नाटेश्वरले हेटौंडा–१५ स्थित जनजागृति माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको हो । नाटेश्वरले जनजागृतिलाई २५–२० र २५–१९ को सेटले पराजित गरेको थियो ।
बिहीबार भएको दोस्रो खेलमा बकैयाको जनक माध्यमिक विद्यालयले महेन्द्र माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको छ । जनकले बकैयाकै महेन्द्र माविलाई दुबै सेटमा २५–१८ ले पराजित गरेको हो । तेस्रो खेलमा थाहा नगरपालिकाको जनकल्याण माविले सुन्दरीदेवी माविलाई २–० को सोझो सेटले पराजित गरेको छ । जनकल्याणले सुन्दरीदेवीलाई दुबै सेट २५–१८ ले पराजित गरेको हो । चौथो खेलमा हेटौंडा–५ स्थित जीएस निकेतनले मकवानपुरगढीको भानु माविलाई २–० को सोझो सेटले पराजित गरेको छ । जीएस निकेतनले भानु माविलाई २५–१६ र २५–२२ ले पराजित गरेको हो ।
बिहीबार भएको पाचौँ खेलमा महेन्द्र माविले जनज्योति माविलाई २–० को सोझो सेटले पराजित गरेको छ । महेन्द्र माविले जनज्योति माविलाई २५–७ र २५–१२ को सेटले पराजित गरेको छ । छैटौँ खेलमा भोजसिद्ध मावि हाँडिखोलाले स्वच्छन्द भैरव माविलाई २–० को सेटले पराजित गरेको छ । भोजसिद्धले स्वच्छन्द भैरवलाई २७–२५ र २५–१० ले पराजित गरेको हो ।
सातौँ खेलमा हेटौंडा–१० स्थित तुल्सीमेहर बोर्डिङले दुर्गादेवी आधारभूत विद्यालय थाहा नगरपालिकालाई २–० को सोझो सेटले पराजित गरेको छ । तुल्सीमेहरले दुर्गादेवीलाई दुबै सेट २५–१० ले पराजित गरेको हो ।
बिहीबार नै भएको आठौँ खेलमा बत्सलादेवी मावि सिस्नेरीले बज्रबाराही माविलाई ३–१ को सेटले पराजित गरेको छ । पहिलो सेट २६–२८ ले गुमाएको बत्सलादेवीले दोस्रो र तेस्रो सेटमा बज्रबाराही माविलाई क्रमशः २७–१९ र १५–९ ले पराजित गरेको छ । बिहीबारको अन्तिम खेलमा जनकल्याण माविले लेकाली बसीफाँट माविलाई २–० को सेटले पराजित गरेको छ । जनकल्याणले लेकालीलाई २५–१४ र २५–१७ ले पराजित गरेको हो ।
प्रतियोगिताअन्तर्गत् समूह चरणको ७ वटा खेलहरु आज शुक्रबार हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २१ वटा विद्यालयको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ । लिग चरणमा सञ्चालन भएको प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ, उपविजेता टिमले १५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीले पनि नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समिति अध्यक्ष शिवहरि दहालको सभाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर युवा समिति अध्यक्ष विष्णुराज नेपालको प्रमुख आतिथ्यमा भएको हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापालगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।










