बागमती प्रदेशको स्वास्थ्य नीतिको प्रारम्भीक मस्यौदाबारे छलफलको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको स्वास्थ्य नीतिको प्रारम्भीक मस्यौदाबारे छलफल कार्यक्रम भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको दुईदिने कार्यक्रममा प्रदेश स्वास्थ्य नीतिसम्बन्धी छलफल कार्यक्रम भएको हो ।

बिहीबार हेटौंडा–४ स्थित सामना होटेलमा भएको कार्यक्रम स्वास्थ्यमन्त्री उत्तम जोसीको प्रमुख आतिथ्य र स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्र, स्वस्थ्य शाखा, आयुर्वेद, एनजीओ आइएनजीओलगायतका प्रमुखको उपस्थिति रहेको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य शाखाबाट प्रदेश स्वास्थ्य नीतिको मस्यौदामा आवश्यक परिमार्जनका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी जनस्वास्थ्य अधिकृत प्रार्थी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयले नीतिमा छलफल गर्न तथा समूह कार्यका लागि ६ वटा समूह विभाजन गरेको उहाँले बताउनुभयो ।

पहिलो दिनको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारीले प्रदेश स्वास्थ्य नीति तर्जुमाका प्रकृया र हालसम्मको प्रगतिबारे प्रस्तुतिकरण गर्नुभएको छ । यस्तै, डब्लूएचओ नेपालका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसालले बागमती प्रदेशमा स्वास्थ्य अवस्था सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलालले प्रदेश स्वास्थ्य नीतिको मस्यौदा प्रस्तुतिकरण गर्नुभएको हो । दोस्रो दिन आज शुक्रबार ६ वटै समूहले प्रस्तुतिकरण गर्नेछन् ।

मन्त्रालयले छुट्याएको ६ वटा समूहमध्ये पहिलो समूहका सहजकर्ता काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन सपकोटा रहेका छन् । यस्तै, क्रमशः स्वास्थ्य निर्देशनालयका दीपकप्रसाद तिवारी, स्वास्थ्य तालिम केन्द्रका डा. नरेन्द्रकुमार झा, स्वास्थ्य निर्देशनालयका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, आपूर्ति व्यवस्थापक केन्द्रका निर्देशक बसन्त अधिकारी र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीको सहजीकरणमा ६ वटा समूह निर्माण गरिएको छ ।