सांकेतिक चित्र ।

हेटौंडाः युवाको एक समूहको आक्रमणमा परी हेटौंडा–१९, बस्तीपुरका १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । गत बिहिबार हेटौंडा–१, पदमपोखरीमा पराल पुर्‍याएर बस्तीपुरतर्फ फर्कँदै गरेको ट्याक्टरमा सवार बालकसहित ४ जनालाई हेटौंडा–१९, तीनताप्केमा युवाको एक समूहले आक्रमण गर्दा १४ वर्षीय बालक मिलन गोङ्वा गम्भीर घाइते भएका हुन् ।

घाइते गोङ्बाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि आज काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । घटनामा संलग्न भएको अभियोगमा शुक्रबार हेटौंडा–१२, घरेटीडाँडाका २७ वर्षीय सञ्जय लामालाई प्रहरीले हिरासतमा लिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रानाले बताउनुभयो ।