हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक माघ महिनामा पनि बस्न सकेन । हरेक महिनाको २ र १६ गते कार्यपालिकाको बैठक बस्ने कार्यतालिका भए पनि माघ २ गते मंगलबार कार्यपालिका बैठक बस्न सकेन ।
हेटौँडा उपमहमानगरपालिकाकी प्रमुख मीना कुमारी लामासँग बैठकका विषयमा बुझ्न खोज्दा उहाँको मोवाइल उठेन । यता प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले भने कार्यतालिकाअनुसारको कार्यपालिका बैठकको नबसेको बताउनुभयो । चालु आर्थिक वर्षमा एक पटक पनि हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक कार्यतालिकाअनुसार बस्न सकेको छैन ।
कार्यपालिका बैठक कार्यतालिकाअनुसार नबस्ने र निर्णय समेत सार्वजनिक नभएको भनी नियमित आलोचना भएपछि पुस ६ गते बसेको कार्यपालिका बैठकको निर्णय भने हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक गरेको थियो । त्यसपछि पुस २० गते बसेको कार्यपालिका बैठकको निर्णय पनि उपमहानगरपालिकाले सार्वजनिक गरेको छ ।