पूर्वराजा हेटौँडा आउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागी राप्रपाका नेताहरु ।

हेटौंडाः पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह माघ ७ गते हेटौँडा आउनुहुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजा–आराधनाका साथै भेटघाटका लागि पूर्वराजा हेटौँडा आउन लाग्नु भएको हो ।

बुधवार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजना तथा रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको आयोजनामा पत्रकार सम्मेलन भएको हो । पूर्वराजा शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको छ । पूर्वराजालाई स्वागत गर्न राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहको संयोजकत्वमा एक हजार एक सय ११ जनाको मूल समारोह समिति गठन गरिएको छ ।

पूर्वराजाले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा–१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा–१० को भुटनदेवी मन्दिरमा पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण, पुजा–आराधना र हेटौँडा रिसोर्टमा उद्योगी, व्यवसायी, पत्रकारसँग भेटघाट गर्ने कार्यक्रम तय भएको मूल समारोह समिति संयोजक सिंहले जानकारी दिनुभयो ।