हेटौँडाः थाहा नगरपालिकाको चित्लाङमा सञ्चालित २७ औं संस्करणको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा थाहा–२ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९, २५–२२ र २७–२५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले नगद ६० हजार १ रुपैयाँँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता छहारी युवा समाज हेटौंडाले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विधागत पुरस्कारतर्फ उत्कृष्ट स्पाइकर छहारीका निश्चल रानामगर, उत्कृष्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए । उत्कृष्ट लिबेरो विनयबाबुका उज्वल लामा, उत्कृष्ट ब्लकर विनयबाबुका उपास विष्ट र उत्कृष्ट खेलाडी निराजन गुरुङ र उत्कृष्ट प्रशिक्षक विनयबाबुकै शंकर कार्की घोषित भएका थिए ।
प्रतियोगिताको उपाधि विजेता तथा उपविजेता टिमलाई प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले पुरस्कार वितरण गर्नुभएको थियो । स्वच्छन्द भैरव युवा क्लब चित्लाङको आयोजनामा पुस २५ गतेबाट सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष पूण्यमान बलामीको अध्यक्षतामा भएको थियो ।