हेटौँडाः शिक्षक तथा साहित्यकार सिएम रिमालको बालकथा संग्रह ‘कथा भन्छु नि ल !’ आइतबारदेखि बजारमा आएको छ । २४ पृष्ठको कथा संग्रहमा जम्मा ३ वटा कथा छन् । “अनुष्माको आँसु”, “उसलाई सधैँ राम्रो होस्” र “कथा भन्छु नि ल !” शीर्षकका तीन कथा समेटिएका छन् । रिमालले लेख्नुभएको यो पहिलो पुस्तक हो ।
यसअघि रिमालका फुटकर रचनाहरु प्रकाशित थिए । बालकथा, बालकविता, समीक्षा, कथा र कविता लेखनमा निरन्तर लागिरहनुभएका उहाँको यस पुस्तकमा बालमनोविज्ञान बुझेर लेखिएका बालकथाहरु छन् । ‘आँट गरे, गर्न नसकिने केही रहेनछ ।’ अनुष्माको आँसु शीर्षकको कथामा यस्तो मूलभाव छ । क्षमता चिनेर हौसला दिएमा बालबालिका अगाडि बढ्न सक्ने विषयवस्तु कथामा रोचक ढङ्गले पस्किएको लेखक रिमालको भनाइ छ ।
गरीब दीनदुःखीलाई सहायता गर्नुपर्छ, प्राणी रक्षा गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्देश बोकेको ‘उसलाई सधैँ राम्रो होस्’ शीर्षकको कथा पढ्दा पाठकमा सकारात्मक सोच विकास हुने लेखक रिमाल बताउनुहुन्छ । नानीबाबुहरुलाई सुत्ने समयमा कथा सुनाउने परम्परा हट्दै गएको आजको समयमा यस पुस्तकको शीर्षकले नै कथावाचनको माग गर्दछ । शीर्षक पढ्दा नै कथा सुनाउने जिम्मेवारी थपिएजस्तो गराउने ‘कथा भन्छु नि ल !’ शीर्षकको कथामा “योचाहिँ म सानै छँदाको कुरा हो…।” भन्ने प्रसङ्गले बालबालिकालाई आकर्षित गराउने आशा लेखक रिमालको छ ।
चित्रसहितको यस पुस्तकमा देव कोइमीले चित्र बनाउनुभएको छ । पुस्तक खोजी प्रकाशनले बजारमा ल्याएको हो । माघ महिनाभित्रै अर्को कथासंग्रह प्रकाशित हुने लेखक रिमालले बताउनुभएको छ । हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविका शिक्षक रिमाल विभिन्न साहित्यिक संघ, संस्थामा पनि आवद्ध हुनुहुन्छ ।