हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा भएको चौथो अन्तरपालिका शहीद रुद्र पाख्रिन÷ वासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज सोमबार हुँदैछ । आइतबार प्रतियोगिताको क्वाटरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै सोमबार सेमिफाइनल र फाइनले खेल हुने भएको हो ।
क्वाटरफाइनलको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितले थाहा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेर समूह ‘क’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको तर्र्फबाट सुजन भोम्जनले खेलको दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । आइतबार भएको दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिका ‘ए’ पनि सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा उपमहानगरपालिका ‘ए’ले हेटौंडा उपमहानगरपालिका ‘बी’लाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
यस्तै, तेस्रो खेलमा हेटौंडा फुटबल एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । एकेडेमीले थाहा नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको हो । अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा–१० स्थित नारायणी कलेज सेमिफाइनलमा प्रवेश गरेको छ । नारायणी कलेजले मकवानपुरगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिताअन्तर्गत् आज सोमबार पहिलो सेमिफाइनल खेलमा नारायणी कलेज र मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी र हेटौंडा उपमहानगरपालिका ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका दुई विजेता टिमले उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन् ।
मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको सहयोगमा भएको प्रतियोगितामा आयोजकसहित ११ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । समितिले ३ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।