फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा यही माघ ४ गतेदेखि जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुर तथा नाटेश्वर माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता गरिने भएको हो ।

प्रतियोगितामा सहभागिता हुन मकवानपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक हुनुपर्ने रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री शिवहरि दहालले जानकारी दिनुभएको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका संस्थात तथा सामुदायिक विद्यालयलले सहभागी जनाउन पाउनेछन् ।

प्रतियोगिता आयोजनाका लागि टिम इन्ट्री, विभिन्न सहयोगी दाता र रेडक्रसको विभिन्न शाखाबाट बजेट प्राप्त हुने उपमन्त्री दहालले बताउनुभयो । नकआउट चरणमा हुने प्रतियोगितामा प्रत्येक विद्यालयबाट १० जना शिक्षकहरुले सहभागी जनाउन पाउने दहालले बताउनुभयो । उहाँका अनुसार खेलाडी शिक्षकको नियुक्तिपत्रको प्रतिलिपि अनिवार्यरुपमा समावेश गरिएको हुनुपर्नेछ ।

यस्तै, निजी श्रोतको शिक्षकको हकमा कम्तिमा १ शैक्षिक सत्र अध्यापन गराएको हुनुपर्नेछ । सम्बन्धित विद्यालयमा अध्यापनरत शिक्षकबाहेक अन्यलाई सहभागी गराउन पाइनेछैन । विद्यालयको पत्रमा टिम क्याप्टेनको नाम र नम्बर उल्लेख हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने शिक्षकहरुका लागि खाना र बासस्थानको व्यवस्था आयोजक विद्यालयबाट हुने बताइएको छ । यस वर्षको प्रतियोगिताको पुरस्कार राशि गतवर्षको तुलनाका वृद्धि भएको उपमन्त्री दहालले बताउनुभयो । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई सार्थक बनाएर सोसाइटीले हरेक वर्ष जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ, उपविजेता टिमले १५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीले पनि नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।