हेटौंडाः सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडियाकर्मीहरुको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । दलित महिला संघ मकवानपुरको आयोजना तथा फाउण्डेशन सोसाइटीको सहयोगमा हेटौंडामा बिहीबार कार्यक्रम भएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको कार्यक्रममा संघकी अध्यक्ष पवित्रा विश्वकर्माको सभाध्यक्षता थियो । कार्यक्रम नेपाल पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा अध्यक्ष गौतमले केही महिनाअगाडि नै संघले दलित महिलाका लागि प्रदेशस्तरीय कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले दलित महिलाहरुको अवस्था के कस्तो छ भन्ने कुरालाई नसमेटिएकोमा चिन्ता व्यक्त गर्नुहुँदै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाकी संयोजक विमला विकले विंस. २०५१ सालमा स्थापना भएको संस्थाले विगत ३ दशकदेखि दलित महिलाहरुको उद्दार कार्य गर्दै आइरहेको बताउनुभयो । जातीय छुवाछुत भेदभावविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयस्तरको कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । उहाँले महिला अधिकार र लैङ्गिक असमानताबाट सबैभन्दा बढी पीडामा परेका दलितहरुको उद्दार गर्ने उद्देश्य लिएको बताउनुभयो ।
महिला समूहहरु गठन गर्ने, फ्रान्टलाइन डिफेन्डर परिचालन, स्थानीयस्तरको मुद्धामा फिचर लेखन सञ्चालन र मिडिया संलग्न कार्यक्रम गर्ने बताउनुभयो । महिलाहरुको समूह गठन गरेर अधिकार प्राप्तिका लागि योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।
संविधानमा लेखिएको कुराहरुको पालना नभएको र विद्यालयमा पनि दलित वर्गहरुलाई निःशुल्क शिक्षाको व्यवस्था नभएको उहाँले दावी गर्नुभएको छ । संघकी अध्यक्ष विश्वकर्माले निःशुल्क शिक्षा व्यवस्थापन गराउने उद्देश्यले १ दशकदेखि अभियान चलाउँदा पनि मिडियाकर्मीहरुसँग जोडिन नसकेको बताउनुभयो । कुनै पनि कुराहरुलाई विश्वव्यापीरुपमा प्रख्यात बनाउन मिडियाले ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
प्रदेश तथा स्थानीय तहले दलित महिलाहरुलाई विभिन्न कार्यहरुमा समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । गरिबी, अशिक्षा र सचेतनाको अभावले गर्दा दलित महिलाहरुले राम्ररी स्वास्थ्य उपचार नपाउने गरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । मानव अधिकार र लैङ्गिक विभेदको शिकारमा दलित वर्गहरु पर्ने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा संघकी उपाध्यक्ष सुनिद दमान र विभिन्न मिडियाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।