हेटौंडाः हेभी इक्यूपमेन्ट डिभिजन हेटौंडा आपत्कालीन अवस्थाको लागि पूर्वतयारीमा रहेको छ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गत् रहेको हेभी इक्यूपमेन्ट डिभिजन हेटौंडामा विभिन्न सडक निर्माणका साधनसहित पूर्वतयारीमा रहेको छ ।
हेभी इक्यूपमेन्टमा डिभिजन हेटौंडाले उपत्यकाबाहेक १० जिल्लाका सडक मर्मतका कामहरु गर्दै आएको छ । नेपाल सरकारले विपद् व्यवस्थापन गर्न ठूलो लगानीमा प्रत्येक प्रदेशमा हेभी इक्यूपमेन्ट राखेको छ । विपद्का समयमा राजमार्ग मर्मत कार्यका लागि सरकारले हेभी इक्यूपमेन्ट खडा गरेको हो ।
वर्षायाममा धेरै पानी पर्ने, सडक भासिने, भत्किने, पहिरोका कारणले राजमार्ग अवरुद्ध हुने हुँदा सरकारले राजमार्गमा तत्काल सडक सुचारु गर्न पूर्वतयारीका साथ इक्यूपमेन्ट तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशको हेटौंडामा रहेको हेभी इक्यूपमेन्टमा सडक मर्मत गर्न आवश्यक पर्ने ६५ वटा साधन रहेका छन् ।
मोबाइल क्रेन (१० टन) को एक थान, ट्रयाक डोजर, बिटुमिन डिस्टुविटर २ वटा, ट्रयाक पेभर एक वटा, हट मिक्स प्लान्ट एक थान, चिपिङ स्प्रेडर एक थान, एक्साभेटर ५ वटा, मिनी एक्साभेटर एक थान, व्हील एक्साभेटर एक थान, भोल्भो एक्साभेटर एक थान, फोर्क–लिफ्ट ट्रक एक थान, ग्रेडर ३ थान, व्हील लोडर १० थान, ब्याकहोइ लोडर ७ थान, थ्री व्हील स्टिल रोलर २ थान, वायमेटिक रोलर ३ थान, प्याडेस्टेरियन रोलर २ थान, डबल ड्रम कम्पन रोलर एक थान, सोइल कम्प्याक्टर एक थान रहेको छ । यस्तै, कम्प्याक्टर क्रेन मोबाइल (१० टन)को एक थान, टाटा टिपर एक थान, ट्रक टिफर ४ थान, मिनी ट्रक टिफर २ थान रहेको छ । कार्यालयमा टेलर ट्रयाक्टर एक थान, टाटा टेलर एक थान, वाटर ट्याङ्क ३ थान, मोबाइल भ्यान एक थान, टोयोटा एक थान र पिकअप फ्रोड एक थान रहेको छ ।
इक्यूपमेन्ट डिभिजन हेटौंडामा २० जना इक्यूपमेन्ट चालक रहेका छन् । हेभी इक्यूपमेन्टमा डिभिजनमा २० जना साधन मर्मत गर्ने इन्जिनियरहरु रहेका छन् । एक अप्रेटरले दशैंपश्चात् खासै इक्यूपमेन्ट सञ्चालनमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दशैंपश्चात खासै इक्यूपमेन्ट चलेको छैन, तलबमात्र खाएर अफिसमा बसेका छौं, काम नचल्दा घाम तापेरमात्र बस्नु परेको छ ।’ पछिल्लो समय सडक निर्माणका कामहरु टेण्डरमा जाने भएकाले इक्यूपमेन्टमा रहेका साधन सञ्चालनमा नआएको अप्रेटरले बताउनुभयो ।
सरकारले इक्यूपमेन्टलाई विपद् कार्यका लागि राखेकाले अन्यत्र खासै नजाने र कुनै निकायबाट साधन माग भई आएमा भाडामा दिने गरेको र त्यो पनि पछिल्लो समय माग नभएको उहाँले जानकारी दिनुभयो । हेभी इक्यूपमेन्ट डिभिजन हेटौंडाका सिनियर डिभिजन इन्जिनियर महेशकुमार इसरले वर्षायाममा काम गरेर अहिले मर्मतको चरणमा रहेको बताउनुभयो । ‘सरकारले राखेको इक्यूपमेन्टमा हामी बाह्रै महिना तयारीमा रहनुपर्ने हुन्छ’, उहाँले भन्नुभयो– ‘वर्षायाममा निरन्तर काम गर्नुपर्ने भएकाले टुटफुट आएका साधन मर्मतको काम भइरहेको छ ।’ सरकारले हेभी इक्यूपमेन्टलाई राजमार्ग मर्मतका लागि राखेका कारणले सधैं तयारी अवस्थामा रहने र अन्य विकास निर्माणको काम नगर्ने उहाँले जानकारी दिनुभयो ।