वडा कार्यालय भवनको सिलान्यास गर्नुहुँदै मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको भवन आज सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको सिलान्यास गर्नुभएको हो । उपमहानगरपालिकाले वडा कार्यालयसँगै स्थानीय सामुदायिक संघ, संस्थाको सम्पर्क कार्यालय पनि सञ्चालन गर्ने गरी बहुउपयोगी भवन निर्माण हुने मेयर महतले बताउनुभएको छ । १ करोड ५० लाखको लागत अनुमान गरी काम सुरु गरिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गोकर्ण पराजुलीले वडा कार्यालयसँगै बहुउपयोगी भवन निर्माणमा जिल्ला समन्वय समिति मकवानपुर र बागमती प्रदेश सरकारले पनि सहयोग गर्ने जानकारी दिनुभयो । बहुउपयोगी भवनमा ११ नम्बर वडा कार्यालयसँगै खानेपानी, रेडक्रस, स्थानीय क्लब, सामुदायिक वन लगायतका सामुदायिक संस्थाको पनि सम्पर्क कार्यालय रहने वडा अध्यक्ष पराजुलीले बताउनुभयो । २१ कोठाको तीन तले भवन निर्माण हुने वडा अध्यक्ष पराजुलीले बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये अधिकांश आफ्नै भवनमा सञ्चालित छन् भने केही वडा कार्यालयहरु भाडाको भवनमा सञ्चालित छन् । हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि टेण्डरको प्रक्रिया भइरहेको मेयर महतले जानकारी दिनुभएको छ । वडा नम्बर १४ र १६ को पनि भवन निर्माणको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । ५ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि भने जग्गा अभाव भएको उल्लेख गर्नुहुँदै छिट्टै जग्गाको व्यवस्था गरी भवन निर्माण गरिने मेयर महतले बताउनुभयो । अब बन्ने वडा कार्यालयका भवनहरु सामुदायिक संस्थाहरुको पनि सम्पर्क कार्यालय सञ्चालन गर्न पुग्ने गरी निर्माण गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।