हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा सूचना लुकाएर मिलेमतोमा ठेक्का लगाउने प्रयास गरेको विषयमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले ध्यानाकर्षण भएको भन्दै प्रक्रियाका बारेमा बुझ्ने जनाएको छ । जिसस प्रमुख रघुनाथ खुलालले समाचार सार्वजनिक भएपछि घटनाका बारेमा जानकारी भएको उल्लेख गर्नुहुँदै थाहा नगरसँगै जिल्लाका सबै स्थानीय तहले कसरी काम गरेका रहेछन् भनेर हेर्ने जनाउनुभएको छ । यता थाहा नगरपालिकाले भने ठेक्काको सूचना सच्याएको छ ।
लकडाउनका बेला नदीजन्य पदार्थको ठेक्कामा अनियमितताको प्रयास सार्वजनिक भएपछि आज शनिबार सूचनामा संशोधन गरी एक महिनाको म्यादसँगै ईविडिङको व्यवस्था पनि थप गरेको छ । यसअघि जेठ ६ गते जिल्ला भित्रकै दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको दावी नगरपालिकाले गरेको थियो । लकडाउनका कारण मकवानपुरका दैनिक पत्रिकाहरु चैत दोस्रो सातादेखि जेठको दोस्रो सातासम्म एक महिना बन्द रह्यो । अहिले पनि मकवानपुरमा समृद्ध समाज दैनिक मात्रै प्रकाशन भइरहेको छ । अन्य दैनिक पत्रिकाहरु लकडाउनका कारण प्रकाशन सुचारु हुन सकेको छैन ।
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सूचना लुकाएर ठेक्का सम्झौताको प्रयास हुन लागेको तथ्य सार्वजनिक भएपछि संशोधन गरिएको हो । यसअघि ठेक्काका लागि हार्डकपी मात्रै पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो । लकडाउनका बेला सहज आवागमन हुन नसक्ने बेलामा हार्डकपी मात्रै पेश गर्नुपर्ने व्यवस्था गर्नु, प्रकाशित नै नभएको पत्रिकामा सूचना प्रकाशित भएको दावी गर्नु र नगरपालिकाको वेभसाइटमा पनि ६ दिन ढिलो गरी सूचना राखिनुले अनियमितताको प्रयास भएको पुष्टि हुन्छ ।
करोडौं राजश्व आम्दानीको स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको उत्खनन्का लागि बोलपत्र (टेण्डर) आव्हानको प्रक्रियामा चलखेल भएको हो । थाहा नगरपालिकाले २ करोड ४० लाख ७३ हजार ३६० रुपैयाँ न्यूनतम मूल्यांकनको नदीजन्य पदार्थको उत्खनन्सम्बन्धी दुई वटा कामको टेण्डरमा अनियमितता प्रयास गरेको हो ।