हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीलाई गर्मी महिनाको पोशाक भत्ता वितरण गरिएको छ । हिजो शुक्रबार र आज शनिबार दुई दिनमा ९५२ जना कैदीबन्दीलाई १ हजार ४ सयका दरले पोशाक भत्ता वितरण गरिएको कारागार प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ ।
बिहिबारसम्म कारागारमा भएका कैदीबन्दीलाई पोशाक दिने व्यवस्थाअनुसार दुईदिन लगाएर वितरण गरिएको उहाँले बताउनुभयो । कारागारमा हिउँद र वर्षा दुई पटक पोशाक भत्ता वितरण गर्ने गरिएको छ । हिउँ मौसममा भने प्रतिव्यक्ति १ हजार ७ सय रुपैयाँका दरले पोशाक भत्ता वितरण गर्ने गरिएको छ । केही समयअघिसम्म कपडा नै वितरण गर्ने गरिएकोमा अहिले भने नगद नै वितरण गर्ने गरिएको कारागार प्रमुख खनालले जानकारी दिनुभयो ।