मकवानपुर गढी गाउँपालिकाको शिक्षक भलिबलको तस्विर

हेटौंडाः मकवानपुरगढी गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । रुपनारायण माध्यमिक विद्यालयको आयोजना तथा पालिका वडा नम्बर ८ सहयोगमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको पुरुषतर्फको उद्घाटन खेलमा वडा–४ स्थित भानु माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।

भानु माविले वडा–४ स्थित मनकामना माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा वडा–७ स्थित जनता माध्यमिक विद्यालय विजयी भएको छ । जनता माविले वडा–६ को जनक माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको हो ।

तेस्रो खेलमा वडा–२ स्थित आयोजक रुपनारायण माध्यमिक विद्यालय विजयी भएको छ । रुपनारायण माविले वडा–८ स्थित वंशगोपाल माविलाई २–० को सोझो सेटले पराजित गरेको छ । पुरुषतर्फको अन्तिम चौथो खेलमा वडा–३ स्थित भानु माध्यमिक विद्यालय विजयी भएको छ । भानु माविले वडा–४ स्थित ज्वालादेवी माध्यमिक विद्यालयलाई २–० को सेटले पराजित गरेको छ ।

यस्तै, महिलातर्फको पहिलो खेलमा भानु माध्यमिक विद्यालय विजयी भएको छ । भानु माध्यमिक विद्यालयले मनकामना माध्यमिक विद्यालयलाई २–० को सेटले पराजित गरेको हो । दोस्रो खेलमा ज्वालादेवी माध्यमिक विद्यालय विजयी भएको छ । ज्वालादेवीले वडा–६ स्थित जालपादेवी माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गरेको छ । तेस्रो खेलमा जनता माध्यमिक विद्यालय विजयी भएको छ । जनता माविले जनक माविलाई २–० को सोझो सेटले पराजित गरेको हो । चौथो खेलमा आयोजक विद्यालय विजयी भएको छ । आयोजकले वंशगोपाललाई २–० को सोझो सेटले पराजित गरेको छ ।

पालिका अध्यक्ष र्दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य तथा आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुन्जरत्न लुङबाको सभाध्यक्षमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटनमा पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, मकवानपुर जिल्ला भलिबल संघका उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल र वडा–८ का अध्यक्ष कुमारसिंह घिसिङको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा महिला ८ वटा र पुरुष ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनाका लागि गाउँपालिका वडा–८ बाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । लिग चरणमा सुरु भएको प्रतियोगिताको अन्तिम खेलहरु शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १८ हजार रुपैयाँ र उपविजेता टिमले १२ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।