कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभा सुरु भएको छ । शनिवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साधारणसभाको उद्घाटन गर्नुभयो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले राज्यले उद्योग र व्यवसाय क्षेत्रलाई राजस्व संकलनको स्रोत भन्दा माथी नसोचेको बताउनुभयो । जसले गर्दा मर्यादित रुपमा व्यवसाय संचालन गर्ने आधार तयार नभएको उहाँको भनाइ छ । व्यवसायीहरु विभिन्न झन्झट र कानुनी तथा नीतिगत अप्ठ्यारोहरुले जेलिएको अवस्था रहेको उहाँले बताउनुभयो । त्यससँग सम्बन्धित कुनै पुर्वधार बनाउन जिम्मेवार नभएको उहाँले आरोप लगाउनुभयो ।

हेटौंडामा २५ मिटर सडक विस्तारको समस्याले नगरवासीर व्यवसायीलाई त्रसित बनाईरहेको अवस्थालाई मध्यनजर राखी उचित निकास राख्नुपर्ने उहाँले बताउनुभयो । हेटौंडाको मुल बजार क्षेत्रको सडकलाई यथावत कायम राखी वाइपास सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । सडक विस्तार गर्नै परे पीडित घरधनीलाई उचित मुआब्जा दिएर विकल्पको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भइरहेको साधारणसभामा प्रतिनिधि सभाका सदस्य दीपक बहादुर सिंह, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको छ ।