हेटौंडाः थाहा नगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि २ दिने थाहा पर्यटकीय फोटो प्रदर्शनी हेटौँडामा सुरु भएको छ । शुक्रबार हेटौंडा–१०, बुद्धचोकमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा स्थानीय फोटोग्राफरले गणेश विष्ट, रामकुमार कार्की, श्रीकृष्ण श्रेष्ठ, कृष्ण अधिकारी, सुरजकुमार भुजेल, गोपाल पाठक, शम्भु अधिकारीलगायतले खिचेका ६५ वटा तस्वीर प्रदर्शनीमा राखिएको छ ।
थाहा नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरुको फोटो प्रदर्शन गरी पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उद्देश्य आयोजकको छ । फोटो प्रदर्शनी शनिबारसम्म चल्नेछ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख लामाले पर्यटकीय क्षेत्रको प्रचार गर्न थाहाबाट सिक्न आवश्यक रहेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानी भएकाले समग्र क्षेत्रको विकासमा हेटौंडा उपमहानगरपालिकाले हेर्ने बताउँदै संस्कृति, परम्परा, रीतिरिवाज जोगाउन सके मात्र हाम्रो परम्परा रहने र पर्यटकले रुचाउने उहाँको भनाइ थियो । हेटौंडा उपमहानगरपालिका अन्तर्राष्ट्रियस्तरसँग जोड्ने सोचमा रहेको लामाको भनाई छ ।
बुद्धचोकमा प्रदर्शनीमा राखिएको तस्वीरहरु ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले फोटो प्रदर्शनीले पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने बताउँदै हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भारतको पट्नाको पर्यटन प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो । फोटो प्रदर्शनीले थाहा नगरपालिका मात्र नभई मकवानपुर जिल्लालाई नै पर्यटनसँगै संस्कृति बचाउने काम गर्ने उहाँको भनाई थियो । थाहा नगरमा आउने पर्यटकलाई माया गर्न जान्नु पर्ने बताउँदै विष्टले भन्नुभयो, “पर्यटकलाई सम्मान गरेमात्र पर्यटक आउँछन् ।” थाहा नगरपालिका ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटन भएको हो ।