हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको । मंलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गनुभएको हो ।
प्रतियोगितामा पालिकाको १० वटा विद्यालयबाट करिब ३ सय जना विद्यार्थीहरुको सहभागिता रहेको बंशगोपाल माध्यमिक विद्यालयका शिक्षक विष्णुमान श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि पालिकाले खेलकुद विकास समितिलाई ३ लाख ५० हजार रुपैयाँ दिएको श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिता एथ्लेटिक्सतर्फको २ वटा खेल र पुरुष भलिबलको क्वाटरफाइनल सम्पन्न भएको उहाँले बताउनुभयो । आज बुधबारसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी भएका प्रत्येक विद्यालयलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेछन् । पालिकास्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरु जिल्लास्तरीय हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् । प्रतियोगिताको उद्घाटनमा पालिका अध्यक्ष दोर्जे लामा स्याङ््तान, उपाध्यक्ष मानकुमारी नेपाली र खेलकुद विकास समिति अध्यक्ष हीराबहादुर स्याङ्तानको उपस्थिति थियो ।