हेटौंडाः बलात्कार अभियोगमा पक्राउ परेका हेटौंडा–१३, वनस्पतिका २५ वर्षीय रोशन लामालाई प्रहरीले म्याद थपेर अनुसन्धान थालेको छ । आइतबार लामाविरुद्ध ९ दिनको म्याद थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
बलात्कारपीडित एक युवतीले पुस १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा सोही दिन पक्राउ परेका लामाविरुद्ध १५ गतेसम्म म्याद राखेर अनुसन्धान थालेको थियो । गएको पुस ६ गते बिहान ४ बजेको समयमा २२ वर्षीया युवतीको घरमै पुगेर स्थानीय लामाले बलात्कार गरेको र कसैलाई भन्यो भने राम्रो हुनेछैन भनी धम्क्याएपछि पीडित युवतीले सोही दिन बिहान ७ बजे विष सेवन गरेको बताएकी छिन् ।
विष सेवन गरेकी युवतीलाई हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको र थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारपछि आफ्नी आमालाई घटनाबारे जानकारी गराएपछि जाहेरी दिएकी थिइन् ।