हेटौँडाः लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले कालोसूची जलाएको छ । मंगलबार संघर्ष समिति बागमती प्रदेशले लघुवित्त वित्तीय संस्थाले शोषण गरेको भन्दै कालोसूची तथा ऋणको पत्र जलाएको हो ।

संस्थाले गरिब जनताहरुलाई सस्तो ब्जाजमा ऋण दिने नाममा चर्को ब्याज लिन गरेकाले विरोध प्रदर्शनीमा उत्रिएको प्रदेश संयोजक क्षेत्री मोक्तानले जानकारी दिनुभएको छ । नेपाली जनताहरुसँग पैसा लुटेर धनी भइरहेका कारणले आर्थिक मन्दी आउने गरेको बताउनुहुँदै संस्थाले गरेको शोषणको अन्त्य गर्ने उद्देश्यले विरोध प्रदर्शनी गरेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले बनाएको नीति नियमको पनि पालन नभएको उहाँले दाबी गर्नुभएको छ । लघुवित्त वित्तीय संस्थाले गरेको शोषणको अन्य हुन नसकेसम्म देशका मानिसहरु सधैं गरिब हुने उहाँले बताउनुभयो । जनताको प्रतिनिधिले बनाएको संविधानमा लेखिएका कुराहरुको पालना गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । जनताले ल्याएको संविधानलाई बहिस्कार गरिरहेको र राष्ट्र बैंकले स्थापना गरेको निर्देशिकामार्फत् गरिब जनतालाई लुट्ने कार्य भइरहेकाले यसको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै, विरोध प्रदर्शनीमा लघुवित्त वित्तीय संस्थाविरुद्ध ३५ सदस्यीय संघर्ष समिति पनि गठन गरिएको छ । अध्यक्षमा क्षेत्रबहादुर मोक्तान र सचिवमा सुधा पाठक चयन भएका छन् । सचिवालय सदस्यमा सूर्य राई, दीक्षा खत्री, दुलामी खड्का, दुर्गा मोक्तान, मिलन तामाङ, शिवकान्त चौधरी र खीना लामा चयन भएका छन् ।