हेटौंडाः हेटौंडा–१३ स्थित पदमपोखरी आधारभूत अस्पतालमा एक हप्ताभित्रमा एमबीबीएस डाक्टर पठाउने तयारी भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाले लिएको लिखित परीक्षामा उत्तीर्ण हुनुभएका डा. निशान अर्याललाई एक हप्ताभित्र अस्पताल पठाउने तयारी भइरहेको उपमहानगरपालिकाका उपनिर्देशक गोपाल पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार डाक्टर पठाउने प्रक्रिया अन्तिम चरणमा रहेको छ । उपमहानगरपालिकाले नगर अस्पतालका लागि मेडिकल अधिकृत नियुक्त गर्न लिएको लिखित परीक्षामा डा. अर्याल उत्तीर्ण हुनुभएको थियो । उपमहानगरपालिकाले दुईजना मेडिकल अधिकृत नियुक्तिका लागि सूचना प्रकाशन गर्दा दुई जनाको आवेदन परेको थियो ।

बागमती प्रदेश सरकारको दरबन्दीमा उपमहानगरपालिकाले मेडिकल अधिकृत नियुक्तिको प्रक्रिया थालनी गरेको हो । यसअघि संघीय सरकारको दरबन्दीमा एकजना मेडिकल अधिकृत डा. कमलराज न्यौपानेले हेटौंडा–१६ स्थित हटिया अस्पतालमा सेवा सुरु गरिसक्नु भएको छ ।

पदमपोखरी आधारभूत अस्पतालका सिनियर अहेव शेरबहादुर ब्लोनका अनुसार व्यवस्थापन समितिले अस्पतालमा आउने डाक्टरले जनशक्तिको सदुपयोग गर्र्ने र अस्पतालमा सेवा सुविधा थप गर्ने अपेक्षा राखेको छ ।

अस्पतालमा अहिले एक जना इन्चार्ज, प्यारामेट्रिक, नर्सिङ स्टाफ, प्रयोगशाला सहायक र कार्यालय सहायकले सेवा प्रदान गरिरहेका छन् । आधारभूत अस्पतालमा दैनिक २० देखि २५ जना उपचार गर्न आउने गरेका छन् ।

अस्पतालले सामान्य जाँचका साथ परिवार नियोजन, गर्भवती परीक्षण तथा गर्भवतीलाई पोषण कोसेली वितरण, खोपसेवालगायत सेवा प्रदान गर्दै आएको छ । आधारभूत अस्पताल भएपछि जन्म केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको ब्लोनले बताउनुभयो ।