हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा निर्माणाधीन अस्पतालको प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले अनुगमन गर्नुभएको छ । निर्माण थालनी गरेको तीन वर्ष हुँदा पनि अस्पताल अझै निर्माण सम्पन्न नभएको गुनासो आएपछि सांसद बर्तौलाले आइतबार अस्पतालको स्थलगत अनुगमन गर्नुभएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको र स्वीकृत कार्यक्रमअन्तर्गत् मनहरीमा १५ शैयाको अस्पतालको निर्माण प्रक्रिया सुरु भएको थियो । सांसद बर्तौलाले जिम्मेवारी लिएको काम समयमै सम्पन्न नगर्ने र राजनीति गर्दै हिँड्ने गैरजिम्मेवार निर्माण व्यवसायीका कारण अस्पताल निर्माणको प्रक्रिया ढिलो भएको बताउनुभएको छ ।
आफूले अनुगमन गर्दा कमसल इट्टाहरुको प्रयोगबाट वाल निर्माण गरेको पाइएको उहाँले बताउनुभयो । निजी फाइदाका लागि अस्पतालजस्तो संवेदनशील संरचना निर्माणमा यस प्रकारको बेइमानी कारबाहीको विषय भएको उहाँले बताउनुभएको छ । सांसद बर्तौलाले उक्त कमसल इट्टा प्रयोग गरेर बनाइएको वाल तत्कालै भत्काएर गुणस्तरीय इट्टा प्रयोग गरी निर्माण प्रक्रिया अगाडि बढाउन पालिकाको प्राविधिकलाई निर्देशन दिनुभएको छ ।