फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल र चन्द्राडिरी न्यू डायमण्ड क्लब पुगेको छ । समूह चरणको खेलमा अपराजित रहँदै सशस्त्र प्रहरीको एपीएफ ११ अंकसहित लिगको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने न्यू डायमण्ड अन्तिम खेल खेल्नुअघि नै ७ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने न्यू डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको थियो । घरेलु टोली छहारी युवा क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको एपीएफले समूह चरणको अन्तिम खेलमा आइतबार दिउँसो नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।

यस्तै न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दा एपीएफसँग २–३ को सेटमा हार व्यहोर्नु परेको थियो । नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको न्यू डायमण्डले सोमबार बिहान घरेलु टोली छहारी युवा क्लबसँग खेल्न बाँकी छ । सोमबार बिहान समूह चरणको अन्तिम खेलपछि न्यू डायमण्डले फाइनल खेल दिउँसो एपीएफसँग खेल्नेछ ।

तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफसँगै न्यू डायमण्ड र घरेलु टोली छहारी युवा क्लबसहित ५ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले नगद दुइ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद तथा व्यापार महोत्सवमा मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रयोजनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।