हेटौंडाः हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा चन्द्रागिरी नगरपालिका विजयी भएको छ । हेटौंडा–१० स्थित टिसिएन चौरमा भएको खेलमा चन्द्रागिरी नगरपालिकाले न्यु डाइमण्डलाई ३–१ को सेटले पराजित गरेको हो ।

दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)को टिम विजयी भएको छ । एपपीएफले छहारी युवा समाजलाई ३–० को सोझो सेटले पराजित गरेको हो । तेस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सेटले पराजित गरेको हो । शनिबारको चौथो खेलमा एपीएफ विजयी भएको छ । एपीएफले न्यु डाइमण्डलाई ३–२ को सेटले पराजित गरेको हो ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समितिको सहकार्य र हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोग रहेको छ । लिगका आधारमा खेलाइएको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइलन खेलमा पराजित हुने टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।