विरोध प्रदर्शनमा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकारको पनि सहभागिता रहेको थियो ।

हेटौँडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौँडामा विरोध प्रदर्शन गरेको छ । शुक्रबार ललितपुरमा मजदुरको रुपमा कोरिया जान चाहने युवामाथि प्रहरीको हस्तक्षेपपछि भएको झडपमा दुई युवाको मृत्यु भएको घटनाको विरोधमा रास्वपाले शनिबार हेटौँडामा विरोध प्रदर्शन गरेको हो ।

रास्वपाको पार्टी कार्यालयबाट हेटौँडा बजारको बुद्धचोकमा पुगेर रास्वपाले विरोध सभाको आयोजना गरेको थियो । देशमा काम दिन नसक्ने, देशमा बस्ने वातावरण सिर्जना गर्न नसक्ने र रोजगारीको खोजीमा बाहिर जान्छु भन्ने युवालाई परीक्षा दिन नदिने सरकारको विरोधमा रास्वपाले प्रदर्शन गरेको रास्वपाको बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालले बताउनुभयो । रोजगारीको अवसर नदिएर विदेश जान लागेको युवालाई मारेको, मानव अधिकारको उल्लंघन गर्ने सरकार विरुद्धमा विरोध प्रदर्शन गरेको उहाँले बताउनुभयो ।

साधारण व्यक्तिलाई मारेर सरकारले जनताको अपेक्षा विपरित काम गरिरहेको, भ्रष्टाचार वेथितिमा अगाडि बढिरहेको उहाँको भनाई छ । नेपालमा जवाफदेही सरकार नभएकोले पनि उहाँले दावी गर्नुभएको छ । सरकारले विदेश जान खोजेका युवालाई गोली प्रहार गरेको घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको र यसको जवाफ सरकारले दिनुपर्ने प्रवक्ता अर्यालले स्पष्ट पार्नुभयो ।

निरंकुश सरकार चाहिँदैन जनता मार्न पाइँदैन, रोजगारीको अवसर माग्दा गोली बर्साउने सरकारको विरोध गरौँ, राज्यले जनताको हत्या गर्दा मौन नबसौं, गठबन्धन सरकार चाहिँदैन जनता मार्न पाइँदैन भन्दै नारा समेत लगाएका थिए । विरोध प्रदर्शनमा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकारको पनि सहभागिता रहेको थियो ।