सहयोग रकमको नमूना चेक हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविका पूर्वविद्यार्थील विद्यालयलाई आर्थिक सहयोग गरेको छ । विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहमा श्रमिक मावि पूर्वविद्यार्थी समाजले नगद १५ हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।

पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठसहितको पूर्वविद्यार्थी समूहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र प्रधानाध्यापक श्रीराम दाहाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । विद्यालयको अक्षयकोषका लागि पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका हुन् । विद्यालयले १० लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने योजना बनाएको विद्यालयका प्रधानाध्यापक दाहालले बताउनुभएको छ । विद्यालयले ५ लाख रुपैयाँ संकलन गर्न सके वडा कार्यालयले ५ लाख रुपैयाँ थपेर १० लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक दाहालको भनाई छ ।

सहयोग रकम हस्तान्तरणपछि श्रमिक मावि पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठले पूर्वविद्यार्थीमार्फत अक्षयकोणमा थप रकम सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पूर्वविद्यार्थीले विद्यालयलाई निरन्तर सहयोग गरिरहने उहाँको भनाइ थियो । पछिल्लो समय विद्यालयको सुधार उत्साहजनक रहेको बताउनुहुँदै अध्यक्ष श्रेष्ठले पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पर्याप्त सहयोग गर्ने बताउनुभएको छ ।