हेटौंडाः सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै आज हेटौंडा बजारका अधिकांश पसल, व्यवसाय सुचारु भएका छन् । केही व्यवसायी भने अझै अन्यौलमै देखिन्छन् । केही पसलहरु अझै बन्द छन् ।

बजार खुला भएसँगै सर्वसाधारणको आवागमन पनि बढेको छ । ग्रामीणबाट बजार क्षेत्रको आवागमनमा प्रयोग हुने सार्वजनिक सवारीका साधन नचलेका कारण बजारमा सर्वसाधारणको उपस्थिति पातलो रहने देखिन्छ ।

बजार खुलेसँगै व्यवसायीलाई सतर्कता अपनाउन मकवानपुर उद्योग वाणिज्य संघले आव्हान गरेको छ । संघले भौतिक दुरी कायम गर्न, मास्क, सेनिटाइजरको प्रयोग गर्न, हात धुने ठाउँको व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

निजी सवारी साधन जोरबिजोर चलाउने भनिए पनि हेटौंडामा स्थानीय प्रशासनले त्यसलाई अनुगमन गरेको छैन । भौतिक दुरी कायम गर्न, मास्क प्रयोग गर्न भने सर्वसाधारणले सचेतता अपनाएको देखिन्छ ।