महिला भलिबल प्रतियोगिता क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी खेलकुद तथा व्यापार महोत्सवमा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु भएको महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ ।

हेटौंडा–१० स्थित टिसिएन चौरमा भएको खेलमा एपीएफले विजयी सुरुवात गरको हो । एपीएफले नेपाल आर्मी क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको छ । एपीएफले नेपाल आर्मीलाई क्रमशः २९–२७, २५–१९ र २५–१८ ले पराजित गरेको हो ।

प्रतियागितामा ५ वटा समूहको सहभागिता रहेको छ । लिग चरणमा सञ्चालनमा भएको प्रतियोगिता सोमबारसम्म हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइलन खेलमा पराजित हुने टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिको सहकार्य र हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोग रहेको छ ।

शुक्रबार हुने भनिएको चन्द्रागिरी नगरपालिकाको न्यू डाइमण्ड र नेपाल पुलिस क्लबबीचको खेल समय अभावका कारण स्थगित गरिएको छ । मकवानपुरका भलिबल कोच पुष्प मैनालीका अनुसार ५ समूहले एक अर्कासँग अनिवार्य खेल्नुपर्छ भने स्कोरका आधारमा समूह फाइनलमा जानेछन् ।

प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटनमा जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौला, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको उपस्थिति रहेको थियो । प्रतियोगिताका प्रमुख अतिथि बानियाँले उपमहानगरपालिकाले खेलाडी उत्पादनको लक्ष्य लिएको बताउनुभयो ।