रुकुम पश्चिममा दलित युवाको सामूहिक हत्याको विरोधमा बिहिबार निकालिएको र्‍यालीमा सहभागीहरु ।

हेटौंडाः रुकुम पश्चिममा दलित युवाको सामूहिक हत्याको विरोध एवम् दोषीलाई कारवाहीको माग गर्दै मकवानपुरका दलित समुदायले आज बिहिबार हेटौंडामा विरोध र्‍याली निकालेका छन् । दलित सञ्जाल मकवानपुरको आयोजनामा जिल्लामा क्रियाशील विभिन्न दलित संघ, संस्थाका प्रतिनिधिको सहभागितामा हेटौंडा बजारको सीमाचोकबाट सुरु भएको विरोध र्‍याली मेनरोड, अजरअमररोड, पारिजातपथ, स्कूलरोड हुँदै पुनः सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नुहुँदै दलित अगुवा युक्तलाल विश्वकर्माले दोषीमाथि कारवाहीका लागि निरन्तर खबरदारी गरिरहने बताउनुभयो । सामाजिक विभेदको चरम घटनालाई राज्यले गम्भीर भएर कारवाही गर्नुपर्ने भन्दै उहाँले दोषीलाई कारवाही र पीडितलाई राहत दिन पनि सरकारसँग माग गर्नुभयो । सभामा दलित सञ्जाल मकवानपुरका सदस्य केशव रसाईलीले कविता वाचन गर्नुभएको थियो । यसअघि दलित सञ्जालले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुका साथै नेकपा मकवानपुर र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा धर्ना दिएका थिए ।