हेटौंडा–३, जम्बुचौतारामा एक बालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी ।

हेटौंडाः हटौंडा उपमहानगरपालिकाका बालबालिकालाई आजबाट दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका अनुसार आजदेखि असार ६ गतेसम्म नगरका विभिन्न स्थानमा रहेका १०६ वटा खोपकेन्द्रमार्फत ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइनेछ ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन आव्हान गरेसँगै चैतमा लगाउने भनिएको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम स्थगित भएको थियो । आज पहिलो दिन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ को जम्बुचौतारा, वडा नम्बर १५ को चिप्लेटी र वडा नम्बर १८ को दोभानचौरमा खोप कार्यक्रम सञ्चालन भएको थियो । वडा नम्बर ३ को जम्बुचौतारा र वडा नम्बर १८ को दोभानचौरमा खोप लगाउने कार्यको हेटौंडा उपमहनगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले अनुगमन समेत गर्नुभएको छ ।

उपमेयर लामाले हेटौंडा–१८, हर्नामाडीका दुई सुत्केरी महिलालाई पोषिलो कोसेली समेत सहयोग गर्नुभएको छ । दादुरा रुबेला विरुद्धको खोप हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई लगाइने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले जनाएको छ ।