पत्रकार सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

हेटौंडाः संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको नीतिले देशको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच मन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या घट्दै गएको र देशको आर्थिक स्थिति सुधार हुँदै गएको बताउनुभयो ।

कोरोना महामारीका कारण बैंकहरुले व्याजदर घटाएर ऋण प्रवाह बढाउँदा आर्थिक संकट निम्तिएको बताउँदै मन्त्री महतले उक्त पूँजी घरजग्गा कारोबार, सेयर बजारमा बढी खर्च भएको उल्लेख गर्नुभयो । “खर्च गर्ने ठाउँ नभएको अवस्थामा पूँजी प्रवाह बढी भएको थियो । जसले गर्दा अर्थतन्त्रमा समस्या देखियो”, उहाँले भन्नुभयो, ‘अहिले समस्या समाधानतर्फ गइरहेको छ । अहिले निकै सुधार भएको छ ।’ सरकारले गरेको पहलका कारण हाल सेयर बजारको कारोबार बढ्दो क्रममा रहेको र घरजग्गा कारोबार पनि उकालो लाग्ने चरणमा रहेको उहाँको भनाई छ ।

अर्थतन्त्रमा आएको समस्याका कारण उद्योगी, व्यापारीहरुमा परेको समस्या समाधानका लागि राष्ट्र बैंकसँगको छलफलमा व्याजदार घटाउने पहल सरकारले गरेको र उक्त पहलबाट हाल बैंकहरुले व्याजदर घटाउने क्रममा रहेको उहाँले बताउनुभयो । बैंकहरुको ब्याजदर घटाउने र पुराना ऋणीहरुको सहजताका लागि चैतसम्मको समयसीमा दिएर ऋण भुक्तानीको व्यवस्था मिलाउन सरकारले राष्ट्र बैंक मार्फत् निर्देशन दिएको मन्त्री महतको भनाई छ । मौद्रिक नीतिले पनि उक्त समस्याहरुको समाधानका लागि केही प्रयासहरु गरेको जोडदिँदै व्यवसायीहरुले पुरानै शैलीको लगानी प्रवृत्ति त्यागेर नयाँ क्षेत्रको खोजीमा केन्द्रित हुन सुझाव दिनुभयो । सरकारको मात्र प्रयासमा समस्या समाधान नहुने भएकाले निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको उहाँको भनाई छ । उद्योगी व्यवसायीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै सरकारले बजेट खर्च बढाउनेतर्फ आफ्ना गतिविधि केन्द्रित गरेको उहाँले बताउनुभयो ।