हेटौंडाः युद्वप्रसाद मिश्र स्मृति साहित्य सम्मानबाट हेटौंडाका साहित्यकार एवम् शिक्षक पुरुषोत्तम आचार्य सम्मानित हुनुभएको छ । हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा स्थापित २२ हजार २ सय २२ रुपैयाँ राशिको युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट शनिबार आचार्यलाई सम्मान गरिएको हो ।
प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित सोलिड्यारिटी बोर्डिङ स्कूलको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार आचार्यद्वारा लिखित जुनेली खण्डकाव्यको गृहविमोचना तथा परिचर्चा कार्यक्रममा उहाँलाई सम्मान गरिएको छ ।
प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यतातामा आयोजित कार्यक्रममा नवराज शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि शर्माले आर्चायको रचनाहरुको धेरै चर्चा भइरहेको बताउनुभयो । उहाँले जनयुद्ध कालमा हिँडिरहेका व्यक्तिहरुको योगदानलाई समेटेर रचनाहरु निर्माण गर्ने गरेको बताउनुभयो । आफूले भोगेको कुराहरलाई समेटेर काव्यको निर्माण गरेकोमा खुशी व्यक्त गर्नुहुँदै आचार्यको अझ प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका श्रमजीवी, सर्वहारा, शोषित र उत्पीडित जनताको पक्षमा तथा अन्याय, अत्याचार, असामानता, विसङ्ति र कुसंस्कारका विरूद्धमा लामो समयदेखि जनवादी कविता र गीतसंगीतका माध्यमबाट अनवरतरुपमा जनतालाई सुसूचित र जागरूक बनाउँदै सामाजिक तथा राजनीतिक परिर्वतनका निम्ति अतुलनीय भूमिका निर्वाह गरेको कदरस्वरुप आचार्यलाई सम्मान गरिएको हो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका आचार्यले आफ्नो कृति जुनेली खण्डकाब्यको केही कविताहरु वाचन गुर्नभएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक तथा साहित्य सर्जक निरा शर्मा, राजनीतिकर्मी तथा साहित्य सर्जक प्रदीप वालाचन, कमला बराइलीले आचार्यको विमोचित कृतिमाथि परिचर्चा तथा टिप्पणी गर्नुभएको थियो । सर्जक आचार्यले आफ्नो खण्डकाव्यमार्फत् विभिन्न व्यक्तिहरुले भोगेको सुखदुःखका विषयमा कलम चलाएर प्रस्तुत गरेको सर्जक सञ्जाल मकवानपुरका संयोजक निखिलले बताउनुभयो ।
धेरै वर्ष पहिला आफूले भोगेको कुराहरुलाई आचार्यले कवितामा प्रस्तुत गरेको बताउनुहुँदै खण्डकाव्यमा प्रकृतिले प्रकृतिसँगै प्रश्न गरेर प्रकृतिमार्फत् उत्तर आएको साहित्यकार निरा शर्माले बताउनुभयो । अर्की टिम्पणीकर्ता कमला बराइलीले आचार्यको काव्यले जीवनको हरेक कुरालाई समेटेको विश्वास व्यक्त गर्नुभयो ।
प्रदीप बालचनले सामाजिक विषयलाई काव्यमार्फत् मानिसहरुको सामाजिक अवस्था, गोठाले जीवनलाई सकारात्मक ढंगबाट चित्रण गरेको बताउनुहुँदै जुनेली काव्यमार्फत् विभिन्न कुराहरु सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कक्षा ९, १० मा पढ्दा कविताप्रति रुचि बढेकाले साहित्य सिर्जनामा क्रियाशील बनेको सम्मानित हुनुभएका आचार्यले बताउनुभयो । उहाँले कृति रचना गर्दा समाज र घरपरिवारको साथ सपोर्ट हुनुपर्ने बताउनुभयो ।
कलाकार आइपी आचार्य, नमस्ते दीवाकर घिमिरे र एलिसा पराजुलीले जुरेली काव्यखण्डसँग सम्बन्धित नाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेललगायतको उपस्थिति रहेको थियो ।