समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा केक काट्दै ।

हेटौँडाः हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । चौधौं वार्षिकोत्सवको अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेर समृद्ध समाज राष्ट्रिय दैनिकले २५ हजार रुपैयाँ बराबरको करिब एक सय वटा पुस्तक सहयोग गरेको हो । अस्पतालमा उपचाररत विरामी र कुरुवालाई अध्ययनको अवसर हुनुका साथै पठन संस्कृतिको समेत विकास हुने अपेक्षासहित अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले बताउनुभएको छ ।

सम्पादक श्रेष्ठले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई पुस्तक हस्तान्तरण गर्नुभयो । सम्पादक श्रेष्ठले पठन संस्कृतिको विकास गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै पत्रिकाप्रति पाठकलाई आकर्षित गर्न पनि पठन संस्कृतिको आवश्यकता रहेको औँल्याउनुभयो । पठन संस्कृतिको विकासकै लागि विद्यालय तहका विद्यार्थीलाई नियमित समृद्ध समाज दैनिक पढाउने प्रयास गरिएको र विद्यालयहरुबाट पनि सहयोग प्राप्त भइरहेको सम्पादक श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई पुस्तक हस्तान्तरण गर्नुहुँदै समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ ।

एभोकाडो एण्ड अर्किड रिसोर्टमा शुक्रबार सम्पन्न कार्यक्रममा आमन्त्रितले पनि अस्पतालका लागि पुस्तक हस्तान्तरण गरेका छन् । चियापन कार्यक्रममा सहभागी हुन आमन्त्रित अतिथिले पनि अस्पतालमा पुस्तक हस्तान्तरण कार्यक्रमप्रति समर्थन जनाउँदै एक सय थान पुस्तक हस्तान्तरण गरेका छन् । कार्यक्रममा सहभागी हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका प्रिन्सीपल पुरनबहादुर जोशीले १० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने घोषणा गर्नुभयो ।

हेटौँडाबाट प्रकाशन हुने प्रमुख दैनिक समाचारपत्रको रुपमा रहेको समृद्ध समाज दैनिक प्रेस काउन्सिल नेपालको वितरण संपरीक्षणमा क वर्गको पत्रिका हो । यसअघिका २ वर्ष समृद्ध समाज राष्ट्रिय दैनिकको वार्षिकोत्सवको अवसरमा आमन्त्रित सबैलाई पुस्तक वितरण गर्ने गरिएको थियो । यस वर्ष भने अस्पतालमा उपचाररत विरामी र विरामीका कुरुवालाई अध्ययनमा प्रेरित गर्न पुस्तक हस्तान्तरणको योजना बनाइएको उहाँको भनाइ थियो । अस्पताललाई हस्तान्तरण गरिएको पुस्तक विभिन्न वार्डमा उपचाररत विरामी र तिनका कुरुवालाई लक्षित गरी अस्पताललाई हस्तान्तरण गरिएको सम्पादक श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।