हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौंडा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड शनिबार मानवसेवा आश्रमको नवनिर्मित भवन उद्घाटनका लागि आउन लाग्नुभएको हो ।
१२ करोड रुपैयाँ लागतमा आश्रमको अपाङ्ग, अशक्तमैत्री भवन निर्माण भएको छ । २०६९ भदौ १३ स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । मानवसेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एउटा, कर्णाली प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
केही समयअघि मानवसेवा आश्रम हेटौंडाले मेची–महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो । सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले विसं २०७७ सालदेखि नै आश्रमले उद्दार अभियान सुरु गरेको हो । आश्रमले सडकमा कष्टकर जीवनयापन गरिरहेका मानवको उद्दार गर्दै आइरहेको छ ।