तालिममा सहजीकरण गर्नुहुँदै प्रशिक्षण ।

रामेछापः बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको आयोजनामा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । मंगलबारबाट रामेछापको मन्थलीमा सुरु तालिमको रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले उद्घाटन गर्नुभयो ।

तालिमलाई सम्बोधन गर्नुहुँदै रजिष्ट्रार सापकोटाले बागमती प्रदेशले प्रदेशभित्रका पत्रकारहरुको समाचार लेखन र वाचनशैलीलाई गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई उपलब्धी हुने गरी सिक्न शुभकामना व्यक्त गर्नुभयो । तालिममा विशेषगरी फोटो र भिडियो इडिटिङको बारेमा सिकाउने उहाँले बताउनुभयो ।

तालिममा बागमती प्रदेशका २५ जना पत्रकारहरु सहभागी छन् । तालिममा मकवानपुरका तीन जना पत्रकार सहभागी छन् । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित समृद्ध समाज राष्ट्रिय दैनिकका रवीन्द्र वाईबा, प्रेस दर्पणका बसन्त भण्डारी र स्पेस फोकेका प्रमोद पिया सहनी सहभागी छन् । तालिममा सहभागी सञ्चारकर्मीलाई प्रशिक्षक फोटो पत्रकारहरु विकास कार्की र नसना बज्राचार्यले सहजीकरण गर्नुहुनेछ । तालिम मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ ।