हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भर्चुअल वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लकडाउनका कारण असहज अपरिस्थितिमा पनि सहकारीले पहिलोपटक भर्चुअल कार्यक्रम गरिएको सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।
भर्चुअल वित्तीय साक्षरता कार्यक्रममा संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । श्रेष्ठले पारिवारिक बजेट निर्माण, स्वाथ्य सचेतना, परिवारमा आपसी सुमधुर सम्बन्ध स्थापना लगायत स्वस्थकर खानपानमा ध्यान दिएर महामारीलाई जित्न सकिने लगायतका विषयमा सदस्यहरुलाई सहजीकरण गर्नुभएको थियो । सहकारीकी उपाध्यक्ष अनिता सापकोटाले सहभागीहरुलाई हालको परिस्थितिमा अप्ठ्यारोमा कोही सदस्य परेको भए सहकारीलाई खबर गर्न आग्रह गर्नुभयो । यस्तै सहकारीका व्यवस्थापक मेनुका दहालले संस्थाको वर्तमान अवस्था तथा विपद्मा सहकारीका विशेष सेवा सम्बन्धमा प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले कोरोना भाइरस संक्रमण जोखिमबाट बच्न आफूले अपनाएको सावधानीका साथै सहकारीसँग गरेको अपेक्षा समेत प्रस्तुत गरेका थिए । लेखापाल पवित्रा भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा ऋण अधिकृत मातृका गौतमले ऋण भाखा नाघेको भनी चिन्तित नहुन आग्रह गर्दै व्यवसायमा दख्खल परेको भए ६ महिनासम्म ऋण पुनर्तालिकीकरण गर्ने सुविधा रहेको, हर्जना मिनाहा र व्याज छुट (रिवेट) व्यवस्था भएकोले सदस्यहरुलाई संस्थामा सम्पर्क राख्न आग्रह गर्नुभएको थियो ।