बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशको सभाको बैठक २ महिनादेखि बस्न सकेको छैन । गत असोज २४ गते प्रदेश सभा बैठक बसेको थियो । वर्षे अधिवेशनको अन्त्य भएको २ महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन । बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

आइतबार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले हिउँदे अधिवेशन आह्वान गर्ने, संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो । यी विषयमा छलफल गर्ने भने तापनि छलफल नै नभई सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गियो । ३ घण्टासम्म चलेको बैठकमा संसदीय समितिको निर्वाचन र प्रदेश सभा वैठकको विषयभन्दा पनि बजेट कार्यक्रमका विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एक प्रदेश सभा सदस्यले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेट कार्यक्रम कार्यान्वयन, निर्वाचन क्षेत्र विकास कार्यक्रम (संसद विकास कोष) र बजेटका सन्दर्भमा सरकार र प्रतिपक्षबिचको सम्झौताबारे बैठकमा छलफल भएको थियो ।

सहमति कार्यान्वयनको चरणमा नगएसम्म अन्य विषयमा छलफल हुन नसक्ने भन्दै एमाले र राप्रपाले अडान राखेका छन् । “हामी छलफलको चरणमा छौँ, प्रदेशमा ५ वटा समिति, ७ वटा दल छौँ, मिलाउने प्रयासमा छौँ, माघतिर हिउँदे अधिवेशन हुन सक्ने सम्भावना छ, बजेट सन्तुलित नभएको प्रतिपक्षका साथीहरुको भनाइ रहेको छ ।” एक प्रदेश सभा सदस्यले भन्नुभयो । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बजेट कार्यक्रम कार्यान्वयनका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावपत्र प्रस्तुत गर्नुभएको थियो । अख्तियारले आर्थिक वर्षको बीचमा बजेट कार्यक्रममा नयाँ योजना थप गर्ने र रकमान्तर नगर्न सुझाव दिएको छ ।

प्रतिपक्षी दलहरु एमालेलाई ४५ करोड र राप्रपालाई २५ करोड रुपैयाँ बराबरका योजना दिने सम्झौता भएको तर अहिले सरकारले विभिन्न बहाना बनाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य उद्घव थापाले बताउनुभयो । थापाले भन्नुभयो, “अन्तर्राष्ट्रिय गौरवको योजनामा सरकार ७०–३० गर्न सक्छ तर सम्झौता भएको बजेट सरकारले दिन सक्दैन, अहिलेको प्रदेश सभा संसद हावी नभएर सरकार हावी भएको छ, सरकारले बजेट पारितको समयमा गरेको सम्झौता पूरा नगरे प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।” नेकपा एमालेका प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले सरकार पक्षपाती भएको आरोप लगाउनुभएको छ ।

सरकारले आफ्नो क्षेत्रमा मात्र बजेट राखेको र विपक्षीसँग गरेको सम्झौता पनि सरकारले पुरा गर्न नसकेको बताउनुभयो । सरकार गैरजिम्मेवार ढङ्गले पेश भएको बताउँदै थपलियाले भन्नुभयो, “तानाशाही रुपमा सरकार प्रस्तुत भएको छ, पहिले सरकरले गरेको कुरा पुरा गर्न सकेको छैन, सत्तारुढ दल भित्रै आक्रोश छ ।” सरकार आफै मिल्न नसकेको बताउँदै अख्तियारको पत्र आएको भनी सरकारले बहाना बनाएको बताउनुभयो । सरकारले बजेटमा पक्षपात गरेको उहाँले आरोप समेत लगाउनुभयो । सरकार उत्तरदायी र जनतामुखी भए आफुहरु समन्वयमा जाने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठकमा विपक्षी दलहरुबिच नै समस्या आएको बताउँदै समन्वयात्मक ढंगले सरकार अगाडि बढ्ने बताउनुभयो । सरकारले प्रतिपक्ष दलसँग गरेका सबै प्रतिबद्धता पूरा गर्दै सरकारको कामलाई व्यवस्थित बनाउने उहाँले बताउँदै विपक्षीसँग सहकार्य गरी छिट्टै अधिवेशन आह्वान गर्ने जानकारी दिनुभयो । सरकारले संसदीय समितिको सभापतिको छिट्टै टुङ्गो लगाउने बताउनुभयो ।