हेटौंडाः मूल्य अभिवृद्धि कर (भ्याट) को बिजक पूर्णरुपमा लागु गरी कार्यान्वयन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार नारायणी यातायात व्यवसायी कम्पनीले पत्रकार सम्मेलन गर्दै मूल्य अभिवृद्धि करको बिजकमा ट्रकहरुलाई मालसामान ढुवानी गर्न समस्या भएको संघका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले जानकारी गराउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा मालसामान ढुवानी ट्रक व्यवसायीलाई नेपाल सरकारको निर्णय अनुसार आन्तरिक राजस्व कार्यालयमा दर्ता गरी मूल्य अभिबृद्धि करको बिजक जारी पश्चात ढुवानी गर्ने व्यावस्था गरेको जानकारी दिनुहुँदै अध्यक्ष पराजुलीले भन्नुभयो, “उक्त व्यवस्था अनुसार मूल्य अभिबृद्धि करको बिजक गाडिधनीको तर्फबाट जारी गरी ढुवानी गर्दै आएकोमा पछिल्लो समय अधिकांश उद्योगी, व्यापारीहरुले मूल्य अभिबृद्धि करकोे बिजक गाडिधनीको तर्फबाट काट्न नमानी बिना मूल्य अभिबृद्धि करमा नै ढुवानी गर्नुपर्ने अवस्था आएको छ ।”
बिना भ्याटमा लोड गरे मात्र मालसामान ढुवानी गर्न पाउने नत्र मालसामान लोड गर्न नपाउने अवस्था श्रृजना भएकोले ट्रक व्यवसायीलाई असहज भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हामी ट्रक व्यवसायी भ्याटमा दर्ता छौँ, प्रत्येक महिना राजस्व कार्यालयमा कारोबार देखाउन पर्छ, उद्योगी, व्यापारी भ्याटमा सामान नै ढुवानी गर्न मान्दैनन्, भ्याटमा भएकोले आफुहरुले कर तिर्न परेको छ, उद्योगी, व्यापारीले समान बिना भ्याट ढुवानी गर्न खोज्छन् ।”
सरकारले कार्यान्वयनमा ल्याएको नियमको नियमन हुन नसकेकोले सम्बन्धित निकायबाट मूल्य अभिवृद्धि करको बिजक शतप्रतिशत लागु गराउने अवस्था नभए गाडिधनीहरुले आन्तरिक राजस्व कार्यालयमा गई मूल्य अभिवृद्धि करमा दर्ता गराएका प्रमाणपत्रहरु खारेज गरी दिने व्यवस्था मिलाउन ट्रकधनीको माग रहेको छ । आफुहरु प्रशासन, सम्बन्धित निकायमा जाने र मागको सम्बोधन नभए आन्दोलन समेत गर्ने ट्रकधनीहरुले चेतावनी दिएका छन् ।