फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा पुस महिनाको पहिलो हप्तासम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिसँग प्रतियोगिता सञ्चालनसम्बन्धी भइरहेको समन्वयअनुसार पुुस महिनाको पहिलो हप्तासम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हेटौंडा उपमहानगरपालिकाका सम्पत्ति व्यवस्थापन तथा खरिद शाखा प्रमुख बसन्त सिटौलाले जानकारी दिनुभएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले मंसिर मसान्तभित्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने निर्देशन दिए पनि नगर खेलकुद विकास समितिको अध्यक्ष नभएकाले प्रतियोगिता सञ्चालनमा ढिलाई भएको बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि थोरै बजेट बिनियोजन भएकोले सरकारी संस्थासँग बजेटको विषयमा समन्वय गरी पुुसको पहिलो हप्तासम्म प्रतियोगिता सञ्चालन गर्न लागेको सिटौलाले जानकारी दिनुभएको हो ।

पालिकास्तरीय प्रतियोगितामा १२ वर्षदेखि १८ वर्षसम्मका कक्षा १२ सम्मका महिला तथा पुरुषहरुले सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । विस. २०७६ सालको कार्यविधिबमोजिम हरेक वर्ष पालिकास्तरीय प्रतियोगिता हुने गरेको छ ।

पालिकास्तरीय प्रतियोगिताअन्तर्गत् भलिबल, उसु, तेक्वान्दो, एथ्लेटिक्स, कराँते आइटीएफ तेक्वान्दोलगायतका खेलहरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पालिकास्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडी छनोट गरी जिल्लास्तरीय प्रतियोगितामा समावेश गराउने गरिएको छ । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय प्रतियोगितामा र प्रदेशबाट राष्ट्रियस्तरमा पु¥याउने गरेको उहाँले बताउनुभयो ।

मकवानपुरको बकैया गाउँपालिकामा यही मंसिर २६ देखि २८ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुनेछ ।