हेटौंडाः नेपाल बुद्धिचाल महासंघको आयोजना तथा बागमती प्रदेश प्याब्सनको संयुक्त आयोजनामा शिक्षकलाई बुद्धिचाल प्रशिक्षण दिइने भएको छ । महासंघ र प्रदेश प्याब्सनबीच शिक्षामा बुद्धिचाल विषयमा भएको सम्झौताअन्तर्गत् पहिलो चरणमा शुक्रबार र शनिबार प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निरञ्जन प्रजापतिले जानकारी दिनुभएको हो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमअन्तर्गत् शुक्रबार र शनिबार हेटौंडा, धादिङ र सिन्धुपाल्चोकका विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिइने केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो । हेटौंडामा ८० जना, धादिङमा ५० जना र सिन्धुपाल्चोकमा ३० जना शिक्षकहरुको सहभागिता हुने उहाँले बताउनुभयो ।
सबै विद्यालयका शिक्षकहरुलाई बुद्धिचालसम्बन्धी तालिम दिएर विद्यायलस्तरमा बुद्धिचालका खेलाडी उत्पादन गराउने, लुकेको खेलाडीहरुको प्रतिभालाई जगाउने र बुद्धिचालको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । दुर्गम सोचका साथ बुद्धिचालका प्रतिभा बढाउका लागि तालिमको आयोजन गर्न लागिएको हो ।
विगतका दिनहरुमा सिमित विद्यालयमा मात्र बुद्धिचाल खेलप्रति रुचि देखिएकाले कार्यक्रममार्फत् अझ थप विद्यालयमा बुद्धिचाल खेलप्रतिको रुचि विकास हुने विश्वासका साथ तालिम गर्न लागिएको हो । आउँदो चैत महिनामा सबै विद्यालयमा बुद्धिचालको आन्तरिक प्रतियोगिता गराएर उत्कृष्ट ५ जना विद्यार्थीहरुलाई सबै सुविधा निःशुल्क पाउने गरी १ वर्षको छात्रवृत्तिको व्यवस्था गरिने उहाँले बताउनुभयो ।











