फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले यही मंसिर २३ गतेदेखि आयोजना गर्न लागेको नयाँ फुटबल क्लबबीचको छनोट प्रतियोगितामा सहभागिता जनाउन १२ वटा क्लबले टिम दर्ता गराएका छन् । जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने २ वटा क्लब छनोट गर्नका लागि आयोजना गर्न लागेको प्रतियोगितामा सोमबारसम्म १२ वटा क्लबले टिम दर्ता गराएको मकवानपुर जिल्ला फुटबल संघका सदस्य तथा जिल्ला लिग प्रतियोगिता संयोजक आलोक स्याङ्तानले जानकारी दिनुभएको छ ।

नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगितामा मकवानपुर जिल्लाका एन्फामा आवद्ध भएकाबाहेक हेटौंडा–१२, पदमपोखरीको पञ्चशील युवा क्लब, बकैया गाउँपालिकाको बकैया युथ क्लब, हेटौंडा–१८ को कमलादेवी युवा क्लब र हेटौंडा–१३ को पदमपोखरी एकेडेमीले टिम दर्ता गराएका छन् ।

हेटौंडा–१९ को जनहित युवा क्लब, हेटौंडा–२ को द रिभाइबल युवा क्लब, हेटौंडा–८ को कमाने फुटबल एकेडेमी र हेटौंडा–१६ को अग्रसर युवा क्लबले पनि टिम दर्ता गराएका छन् । यस्तै, हेटौंडा–१६ को ज्ञानज्योति युवा क्लब, हेटौंडा–५ को जनप्रवाह युवा क्लब, हेटौंडा–१५ को सहयोगी युवा क्लब र हेटौंडा–१४ को समाज कल्याण युवा क्लबले टिम दर्ता गराएको संयोजक स्याङ्तानले जानकारी दिनुभयो ।

प्रतियोगितामा करिब २० वटा टिम सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतियोगिताको खेल तालिका भोलि बुधबार ३ बजे सार्वजनिक गरिने संयोजक स्याङ्तानले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन आज मंगलबार दिउँसो ३ बजेसम्म टिम दर्ता गराइसक्नु पर्नेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा समेत सहभागी हुनेछन् भने आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने बताइएको छ । मकवानपुर जिल्ला फुटबल संघका सदस्य स्याङ्तानको संयोजकत्वमा टिम तयार भइरहेको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।