सहकारीकी व्यवस्थापक मेनुका तिमल्सिनालाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा–२ स्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाबाट शिवप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन भएको छ ।

सहकारीका अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिका महासचिवको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षक संगठनकी केन्द्रीय सदस्य लक्ष्मी गजुरेल, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको पनि आतिथ्य रहेको थियो ।

साधारणसभाबाट उपाध्यक्षमा मोहन शर्मा, सचिवमा कृष्णप्रसाद पोखरेल (ख), सहसचिबमा सुवास खनाल, कोषाध्यक्षमा गुरुप्रसाद ओझा र सहकोषाध्यक्षमा अमृता भट्ट चयन हुनुभएको छ । यस्तै सदस्यमा कृष्णप्रसाद पोखरेल (क), लक्ष्मी अधिकारी, विष्णु धिताल, भरत पोखरेल, श्रीजना शर्मा, हिमलाल शर्मा, शालिकराम घिमिरे चयन हुनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामजी प्रसाद हुमगाई तथा सदस्यमा शत्रुघन दुलाल र लक्ष्मी कुमारी रिमाल चयन हुनुभएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सहकारीको सेयर सदस्य सात सय ७७ जना रहेका छन् भने सेयर पुँजी ३७ लाख ४३ हजार रुपैयाँ रहेको थियो । सहकारीले २ करोड ४१ लाख ८३ हजार रुपैयाँ बचत संकलन गर्दा १ करोड ९८ लाख ८४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको अवसरमा असल बचतकर्ता, असल ऋणी, एसईईमा राम्रो नतिजा हासिल गर्ने सेयर सदस्य परिवारका विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । सहकारीले व्यवस्थापक र कर्मचारीलाई पनि सम्मान गरेको छ ।