होल्डिङ सेन्टर सञ्चालन गरिने वनविज्ञान क्याम्पसको भवन ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भोलि बुधबारबाट हेटौंडास्थित वनविज्ञान क्याम्पसको भवनमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । भारतसँगै तेस्रो मुलुकबाट उद्दार गरिएका नागरिकलाई व्यवस्थित रुपमा स्थानीय तहसम्म जिम्मा लगाउनु पूर्व राख्नका लागि जिससको व्यवस्थापनमा सदरमुकाममा होल्डिङ सेन्टर सञ्चालन गर्न लागिएको हो ।

जिससले व्यवस्थापन गर्ने गरी बुधबारबाट १५ बेडसहित करिब एकसय जनालाई राख्न मिल्ने गरी सेन्टर सञ्चालनमा आउने जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । “अहिले १५ बेडबाट सुरु गर्दैछौं, यसलाई क्रमशः आवश्यकता अनुसार विस्तार गर्दै जानेछौं”, प्रमुख खुलालले भन्नुभयो । यसअघि आइतबार जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुसँग छलफल गरेर स्थानीय तहहरुकै आर्थिक रहयोग र सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

होल्डिङ सेन्टर सञ्चालनका सन्दर्भमा जिसस प्रमुख खुलालको अध्यक्षतामा सोमबार बसेको बैठकले जिल्लास्थित सरोकारवाला संघसंथाहरुसँग छलफल भएको हो । होल्डिङ सेन्टर संचालनलाई सबैले अपनत्व ग्रहण गर्न सकुन भन्ने उद्देश्यले सरोकारवालाहरुलाई सहभागी गराएर छलफल गरेको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । होल्डिङ सेन्टर सञ्चालनले रातबेरात आउने नागरिकलाई सहजता मिल्ने एवम् जिससले मानवीय कार्य गर्न लागेको भन्दै जिल्ला स्थित संघ÷संस्थाहरुले समेत सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।

होल्डिङ सेन्टरमा आएकाहरुलाई सामान्य स्वास्थ्य परिक्षण, खाना पानीको व्यवस्था, आराम गर्ने स्थान तथा मनोपरामर्श सेवा समेत प्रदान गर्ने गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । बैठकमा सहभागी सरोकारवालाहरुले आवश्यक सहयोगको प्रतिवद्धता जनाएको तथा उनिहरुलाई जिम्मेवारी समेत दिईएको प्रमुख खुलालले बताउनुभयो । छलफलबाट सेन्टर संचालनको सम्पुर्ण व्यवस्थापनका लागि जिससका दुईजना कर्मचारीलाई फोकल पर्सन तोकिएको छ । जिससका आशाकाजी श्रेष्ठ र उपेन्द्र पोखरेललाई होल्डिङ सेन्टरको फोकल पर्सन तोकिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

होल्डिङ सेन्टरमा सरसफाईको व्यवस्थापन जिससले गर्ने, सुरक्षाको व्यवस्था नेपाली सेनाको सुपारिटार व्यारेकले गर्ने, स्वास्थ्यकर्मीको व्यवस्था हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पताल विकास समितिले गर्ने, मनोपरामर्श सेवा रेडक्रस र गैसस महासंघले गर्ने, खाना व्यवस्थापन प्रणामी सेवा समिति मकवानपुरले गर्ने, मिनरलवाटर, मास्क तथा अप्ठेरोमा परेकाहरुलाई यातायातको व्यवस्था सहयोगी मन नेपालले गर्ने, सेनिटाईजर र साबुनको व्यवस्था उद्योग संघले गर्ने, हात धुने स्टेसन र स्वयम्सेवक व्यवस्थापन लियो लायन्स क्लवले गर्ने गरी जिम्मेवारी दिईएको प्रमुख खुलालले जानकारी दिनुभयो ।

सोमबारको छलफलबाट होल्डिङ सेन्टर संचालन तथा व्यवस्थापनका लागि समिति समेत गठन गरेको छ । जिससले व्यवस्थापन गर्ने उक्त समितिमा विभिन्न सरोकारवालाहरुलाई समेटिएको छ । समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, अस्पताल विकास समिति, उद्योग संघ, उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ, गैरसरकारी संस्था महासंघ, रेडक्रस सोसाईटी, सहयोगी मन नेपाल, प्लान ईन्टरनेसनल नेपाल, रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ मकवानपुर, लियो, लायन्स क्लब, होटल एसोसिएशन मकवानपुरलगायत संघसंस्थाहरु रहेका छन् । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामा, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललगायत विभिन्न संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।