हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले व्यवसायी र बैंकले एक अर्कालाई सघाउनु पर्ने बताउनुभएको छ । आज संघमा बैंकका शाखा प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा लकडाउनका कारण व्यवसायीलाई समस्या परेको बेला बैंकले पनि सहयोग गर्नुपर्ने बताउनुभएको हो । लकडाउनको अवस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याहरुको विषयमा बैंकर्स एशोसिएसनसँग छलफल भएको हो ।
अध्यक्ष कटुवालले लकडाउनको कारण सिर्जित विद्यमान कठिन परिस्थितिले उद्योगी, व्यवसायीहरुलाई परेको विभिन्न समस्याहरुबारे जानकारी गराउनु हुँदै व्यवसायीहरु गम्भिर समस्यामा पर्दा बैंक पनि समस्यामा पर्ने भएकाले दुवैले एकअर्कालाई सघाउनु पर्ने बताउनुभयो । व्यवसायीका जायज समस्याहरुलाई बैंकको प्रधान कार्यालयसम्म पुर्याइदिन पनि उहाँले आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुणराज सुमार्गीले बैंकहरुलाई केन्द्रीय बैंकबाट परिपत्र नआएसम्म नीतिगतरुपमा फरक पर्नेगरी केही गर्न सक्ने अवस्था नरहने बताउनु हुँदै व्यवसायीहरुसँग स्थानीयस्तरमा एकआपसमा समन्वय गर्दै अहिलेको कठिन परिस्थितिमा अगाडि बढ्नुपर्ने बताउनुभयो । महासचिव प्रमोद सिंह रानाभाटले बैंकले किस्ताको लागि ताकेता भन्दापनि समयावधि बढाउनुपर्ने बताउनुभयो ।
बैंकर्स एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाडौंका शाखा प्रबन्धक रमेशराज प्याकुरेलले लकडाउन अवधिको बैंक व्याजको लागि फोन सम्पर्क नगरिएको तर फागुन वा सोभन्दा अगाडिको हकमा भने बैंकहरुले फोन सम्पर्क गरेको बताउनु भयो । सधै किस्ता तथा व्याज बुझाउन मात्रै नभई ऋणमा सहजीकरणको लागि पनि फोन गर्ने गरेकोले त्रसित हुनुपर्ने अवस्था तत्काल नरहेको उहाँले बताउनु भयो । साथै लकडाउन जेठ अन्तिमसम्म मात्रै भएकोले किस्ता व्याज आदिमा दिइएको छुट जेठ मसान्तसम्मको लागि मात्रै भएको बताउनुभयो ।
उहाँले कोरोना प्रभावित र सहुलियत प्राप्त नगरेका व्यवसायीहरुलाई लकडाउन अवधिको किस्ता भूक्तानीमा बेस रेटमा नघट्ने गरी व्याजदरमा २ प्रतिशत छुट र १० प्रतिशत थप कर्जा उपलब्ध गराउन थालिएको बताउनुभयो । लकडाउन अवधिको समस्यालाई ध्यान दिँदै पूनर्कर्जा एक वर्षको लागि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो । विभिन्न बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रममा आफ्नो धारणा राख्नु भएको थियो ।