Home अर्थ/व्यापार नगरप्रमुख लामाले पदस्थापित भएको अवसरमा गरेको निर्णय १८ महिनापछि कार्यान्वयन हुँदै

नगरप्रमुख लामाले पदस्थापित भएको अवसरमा गरेको निर्णय १८ महिनापछि कार्यान्वयन हुँदै

हेटौँडा–४ पशुपति मन्दिर नजिकै सोमबार सारिएको विजुलीका खम्बामा मंगलबार बिहान इन्टरनेटको तार पुनः व्यवस्थापन गर्दै प्राविधिक जनशक्ति ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगर प्रमुखको पदभार ग्रहण गरेको दिन गर्नुभएको निर्णय १८ महिनापछि कार्यान्वयन हुन सुरु भएको छ । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भई २०७९ साल जेठ ९ गते पदस्थापित हुँदै गर्दा ५ वटा निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

पहिलो निर्णयमा हस्ताक्षर गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा । फाइल तस्वीर ।

नगरप्रमुख लामाले चौथो बुँदामा बाटो विस्तारको क्रममा बाटोको बीच भागमा छोडिएका/रहेका विद्युतका पोलहरु हटाई छेउ किरानामा स्थापना गर्ने निर्णय गर्नुभएको थियो । विजुलीका खम्बा सार्नेसम्बन्धी नगरप्रमुखको निर्णय कार्यान्वयन गर्न कठिन हुने भन्दै आलोचना समेत भएको थियो । निर्णय भएको १८ महिनापछि नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रसँगले ठेकेदारमार्फत विजुलीका खम्बा सार्ने कामको सुरुवात गरेको हो ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले ठेकेदार कम्पनिसँग गत असार २१ गते २ वटा प्याकेजमा ठेक्का सम्झौता गरेको थियो । हेटौँडा उपमहानगरपालिकाको ७० प्रतिशत लागत र नेपाल विद्युत प्राधिकरणको ३० प्रतिशत लागत सहभागितामा ठेक्कामार्फत कार्यान्वयन गर्न लागिएको निर्णयअनुसारको काम ठेकेदार कम्पनिले सोमबारबाट सुरु गरेको छ । मंगलबार हेटौँडा–४, पशुपति मन्दिर नजिकका केही खम्बाहरु सार्न सुरु गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्नुभएको पहिलो निर्णयको विवरण ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ मा विजुलीका ७२ वटा खम्बा सार्नका लागि ४० लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, ४, ८, ९ र ११ मा विजुलीका ८१ वटा खम्बा सार्नका लागि ६६ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रका ईन्जिनियर सन्तोष चौहानका अनुसार स्थानीयको अवरोध नभए छिट्टै काम सकिनेछ । प्राधिकरणले विजुलीका खम्बा सार्ने क्रममा इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनका तारहरु काटिदिँदा दूरसञ्चार र टेलिभिजन सेवा भने प्रभावित हुने गरेको छ । अव्यवस्थित तार भएका कारण नकाटी नहुने अवस्था रहेको काममा खटिएका प्राविधिकको भनाइ छ ।

Exit mobile version