Home मुख्य समाचार शिक्षकको जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार

शिक्षकको जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार

अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै शिक्षक नम्रता शर्मा पराजुली ।

हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयका शिक्षकले आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक उपहार दिने अभियान सुरु गरेका छन् । आइतबार विज्ञान विषय शिक्षक नम्रता शर्मा पराजुलीले आफ्नो जन्मदिनको अवसरमा १२ थान पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नुभयो । पराजुलीले जनप्रिय माविका अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

शिक्षकले उपहारस्वरुप हस्तान्तरण गरिएका पुस्तक विद्यालयको कक्षाकोठामै राखिने बताइएको छ । जनप्रिय माविले हरेक कक्षामा किताब राख्नका लागि बुक कर्नर बनाएको छ । कक्षाकोठामै रहने पुस्तक विद्यार्थीले खाली समयमा अध्ययन गर्न सक्ने अंग्रेजी माध्यम संयोजक श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले वर्ष २०७९/८० मा प्रकाशित एक दर्जन साहित्यिक पुस्तकहरू विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको छ ।

शिक्षकसँगै विद्यार्थीले पनि कक्षाकोठाको बुक कर्नरमा राख्नका लागि पुस्तक उपलब्ध गराएका छन् । कक्षा ९ की छात्रा एरिना चौलागाईँले ४० वटा पुस्तक आफ्नो जन्मदिनमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । विद्यार्थीले जन्मदिनको अवसरमा पुस्तक हस्तान्तरण गर्ने गरेका छन् । कक्षाकोठाको बुक कर्नरमा रहेका पुस्तक विद्यार्थीले अभिलेख राखी घरमै लगेर पनि पढ्ने व्यवस्था मिलाइएको शिक्षक संप्रस पौडेलले जानकारी दिनुभएको छ । अघिल्लो वर्ष शिक्षकले जन्मदिनमा विद्यालय परिसरमा राख्ने गरी फुलसहितको गमला तथा बिरूवा हस्तान्तरण गर्ने गरिएको थियो । पछिल्लो समय जनप्रिय माविमा विद्यार्थीलाई अध्ययन र लेखनमा रुचि बढाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

Exit mobile version