हेटौँडाः उपचार गरेको रकम भुक्तानी गर्न नसकी हेटौँडा अस्पतालमै बन्धक बनेकी हेटौँडा–१४ की सरिता बम्जनलाई हेटौँडा अस्पतालले डिस्चार्ज गरिदिएको छ । अस्पतालले उपचारको क्रममा प्रयोग भएको रडको रकम नै नलिई डिस्चार्ज सोमबार गरिदिएको हो । पतिको कुटाइबाट हात, खुट्टा भाँचिएर गत असोज ३ गते हेटौँडा अस्पतालमा भर्ना भएकी थिइन् ।
आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालले प्रदान गर्ने सेवा र उपलब्ध औषधी सरितालाई निशूल्क गरिदिएको थियो । भाँचिएको हात र खुट्टामा राखिएको स्टील अस्पतालभन्दा बाहिरबाट डाक्टरकै जमानीमा किनेर सरिताको उपचार गरिएको थियो । हात र खुट्टामा राखिएको स्टीलको रडको करिब ३५ हजार रुपैयाँ सरिताले भुक्तानी गर्न नसक्दा एक महिनादेखि अस्पतालमै बन्धक बनेकी थिइन् ।
आइतबार समृद्ध समाजले समाचार प्रकाशन गरेपछि कतिपयले नकारात्मक टिप्पणी गरेको पाइएपछि अस्पताल प्रशासनले स्टीलको रडको रकम पनि नलिई डिस्चार्ज गरिदिएको हो । “हामीले सक्दो सहयोग गरेर, शल्यक्रियादेखि उपलब्ध औषधी समेत निशूल्क दिएर उपचार गरेका थियौं”, हेटौँडा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. कृष्ण कँडेलले भन्नुभयो, “अस्पतालको तर्फबाट गर्न सकिने सहयोग गरेर डिस्चार्ज गरिदिएको हो । स्टीलको रकम भुक्तानी गर्न नसकेर अस्पतालमै बसेकी सरितालाई अस्पतालले जबर्जस्ती राखेको जस्तो समाचार आएपछि हामीले त्यो रकम पनि नलिई डिस्चार्ज गरिदिएका छौं ।”
सरिताको हात र खुट्टामा जडान गरिएको रडको रकम चिकित्सकले नै व्यहोर्नुपर्ने डा. कँडेलको भनाइ छ । पतिको कुटाइबाट गम्भीर घाइते भएकी सरितालाई बुबाले लिएर जानुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–९, चुनिया माइती भएकी सरिताले मरणासन्न कुट्ने पतिसँग बस्न नसक्ने बताएकी छिन् । उनी केही समय माइतीमै बस्ने र आफ्नो भावी योजना बनाउने बताउँछिन् । दुई महिनादेखि अस्पतालमा बसेकी सरिताले ९ वर्षकी छोरीलाई माइतमै राखेकी छिन् ।