“लैङ्खिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारासहित २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म तदनुसार २०८० मंसिर ९ गतेदेखि २४ गतेसम्म नेपालले पनि अन्य देश जस्तै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको छ । विश्वमा एक करोड महिला विभिन्न खालका हिंसाबाट पीडित हुने गरेका तथ्यांकले देखाउने गरेका छन् । विश्व तथ्यांक अनुसार हरेक तीन महिला मध्ये एकजना महिला कुनै न कुनै हिंसामा पर्ने गरेका छन् ।
महिला हिंसा विरुद्धको दिवसको शुरुवातः
विश्वमा आजभन्दा झण्डै ६० वर्ष पहिले ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन जना दिदी–बहिनी (पेट्रिना, मिनर्वाे र मारिया) को तत्कालिन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको विरोधमा त्यहाँका जनताले नोभेम्वर २५ को दिनलाई लैंगिक आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसकोरुपमा मनाउन थालेका हुन् । पछि त्यसलाई सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । त्यस बेलादेखि हरेक वर्षको २५ नोभेम्बरलाई विश्वभर महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।
सेतो रिवन अभियानः
सेतो रिवन अभियान पुरुष वर्गबाट महिला एवम् बालिकाहरुप्रति हुने हिंसाको विरुद्धमा पुरुष र विशेषगरी युवाहरुद्वारा आफ्नो व्यक्तिगतरुपमा वा संस्थागतरुपमा गरिने प्रतिवद्धताको अभियान हो । यसको शुरुवात महिला तथा बालिकाविरुद्ध भइरहेको हिंसाको बारेमा बोल्ने जिम्मेवारी पुरुष वर्गले लिनुपर्दछ भन्ने विचारबाट सन् १९९१ मा क्यानडाका केही पुरुषहरुबाट शुरु भएको थियो । क्यानडाका युवाहरुले महिलामाथि हुने हिंसाको विरुद्धको अभियानमा टाउकामा सेतो रिवन लगाएर आ–आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए । त्यसबाट शुरु भएको यस अभियान लाखौं पुरुषहरुले सेतो रिवन लगाएर आ–आफ्नो प्रतिवद्धता दर्शाएका थिए ।
हरेक वर्ष प्रायःजसो देशहरुले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । नेपालमा पनि सन् २००६ देखि यो अभियान मनाउँदै आएको पाइन्छ । यस वर्ष पनि नेपाल सरकार तथा गैरसरकारी संघ संस्थाहरुले मंसिर ९ गतेदेखि २४ गतेसम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु गरेर मनाइने छन् ।
महिलामाथि हुने हिंसा
महिलालाई अपमान गर्ने, महिलाको शरीरको अखण्डता तथा स्वतन्त्रसँग हिँडडुल गर्न पाउने अधिकारलाई व्यक्तिगत तथा सामाजिक दमन गरी खण्डन गर्ने, मानसिक तथा शारीरिक चोट पु¥याउनेजस्ता सम्पूर्ण कार्यहरूलाई महिलामाथि हुने हिंसा भनिन्छ । फराकिलो दृष्टिले हेर्दा व्यक्तिगत वा सामाजिक दबावका कारण गरिने त्यस्ता सम्पूर्ण किसिमका व्यवहारहरू जसले महिलाको शरीर, भौतिक आवश्यकता वा स्वतन्त्रसँग हिँडडुल गर्न पाउने अधिकारलाई खण्डित गर्दछ भने त्यो महिलामाथि हुने हिंसा हो । महिलामाथि हुने हिंसा पुरुषद्वारा महिलालाई गरिने शोषण, महिला र पुरुषको बीचमा रहेको असन्तुलित शक्ति सम्बन्ध र समाजमा दह्रो गरी जरो गाडेर बसेको विभेदपूर्ण व्यवस्थाको परिणाम हो । यो मानवअधिकार हननको परिणाम तथा कारण दुवै हो ।
महिला हिंसा र नेपाल
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कूल जनसंख्या २,९१,९२,४८० रहेकोमा महिलाको जनसंख्या १,४९,०१,१६९ अर्थात ५१.०४ प्रतिशत रहेको छ । तर पनि सबै क्षेत्रबाट महिलाहरु उपेक्षित हुँदै आइरहेको छ । त्यसमाथि पनि महिला हिंसाको अवस्था नेपालमा भयावहरुपमा देखिन्छ । प्रत्येक वर्ष महिला हिंसाको विरुद्ध दिवसलाई महिला अधिकारकर्मीले भव्यरुपमा मनाए पनि र सरकारले विभिन्न प्रतिवद्धता जाहेर गरे पनि महिलाका अवस्था केही कम भए पनि पूर्णरुपमा अझै हट्न सकेका छैनन् । बोक्सी, दाइजो, यौनशोषण, बेचबिखन आदिका कारण महिलामाथि चरम हिंसा हुने गरेका छन् । शारीरिक, मानसिक, आर्थिक, राजनीतिक लगायत अन्य महिला हिंसाका अनेकनरुप छन् ।
हिंसाका स्वरुपहरु
मानसिक हिंसाः महिला तथा बालबालिकाहरुलाई भेदभाव गर्ने, गाली गलौज गर्ने, अपशब्द बोल्ने, धम्क्याउने, अरुका अगाडि होच्याउने, हेला तिरस्कार गर्ने, इच्छा विपरित काम गर्न दवाव दिने, उपेक्षा दुव्र्यवहार गर्ने जस्ता कामहरु मानसिक हिंसा हुन्छ ।
शारीरिक हिंसाः कुटपिट, जबरजस्ती गर्भपतन गर्न लगाउनु, महिला तथा बालबालिकालाई कामको बोझ थपेर दुःख दिनु जस्ता व्यवहारहरुका साथै महिला तथा बालबालिकाको शरीरलाई लक्षित गरी पीडा पुर्याउने सबै प्रकारका व्यवहारहरु शारीरिक हिंसा हुन् ।
यौनजन्य हिंसाः महिलाहरुको इच्छा विपरित तथा बालबालिकाको मञ्जुरी लिई वा नलिई जवरजस्ती करणी गर्ने, यौन अंगहरु तथा संवेदनशील अंगहरुमा छुने, सुम्सुम्याउने, अश्लील चित्र, दृश्य वा फिल्महरु देखाउने जस्ता कार्यहरु यौनिक हिंसा भित्र पर्दछन् यस भित्र बलात्कार, बैवाहिक बलात्कार, यौन दुव्र्यवहार, यौन दुराचार, यौन शोषण गर्ने जस्ता हिंसाहरु पर्दछन् ।
सामाजिक तथा साँस्कृतिक हिंसाः विभेदपूर्ण सामाजिक मूल्य, मान्यताबाट निर्देशित भई परम्परा तथा संस्कृतिका आडमा महिला तथा बालबालिकामाथि समाजकै व्यक्तिहरुबाट हुने हिंसा सामाजिक हिंसा हो । झुमा, देउकी, वादी, बोक्सीको आरोपमा गरिने दुव्र्यवहार, बैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरुलाई लान्छना लगाउनु, कुमारी जस्ता संस्कृतिलाई आधार बनाई गरिने हिंसा, छाउपडी, बालविवाह, बहुविवाह जस्ता धर्म र संस्कृतिको आडमा गरिने अपराधका साथै सुत्केरी, रजस्वाला जस्ता महिलाको शारीरिक क्रियासँग सम्बन्धित अवस्थाहरुमा गरिने छुवाछुत, भेदभाव जस्ता सम्पूण व्यवहारहरु साँस्कृतिक हिंसा अन्तर्गत पर्दछन् ।
सन् २०२१ मा विभिन्न घटनामा ३ हजार ४ सय १७ जना महिला पीडित भएको इन्सेकले मानव अधिकार वर्ष पुस्तक, २०२२ मा उल्लेख गरेको छ । इन्सेकको प्रतिवेदन अनुसार सन् २०२१ मा १७६ जना महिलाको हत्या भएको, ४० जना कुटपीटमा परेका थिए । महिलामाथि हुने हिंसाले महिलाको बाँच्न पाउने अधिकार, स्वतन्त्र र सुरक्षितरुपमा जीवनयापन गर्न पाउने अधिकार, स्वस्थ वातावरणको अधिकार जस्ता आधारभूत मानव अधिकारको हनन् भएका छन् ।
महिला विरुद्धको हिंसा रोकथामका लागि भएका राष्ट्रिय प्रयासहरुः
नेपालको संविधान २०७२ को धारा १८ र ३८ ले क्रमशः समानताको हक र महिलाको हकलाई मौलिक हकमा समावेश गरेको छ । प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक, प्रत्येक महिलालाई सुक्षित मातृत्व, प्रजनन् स्वास्थ्य सम्बन्धी हक, महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ जस्ता महिलाको हकमा व्यवस्था गरिएको छ ।
मुलुकी देवानी संहिता, २०७४ तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ मा भएका महिला अधिकार सम्बन्धी व्यवस्थाहरु, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ तथा नियमावली, घरेलु हिंसा (नियन्त्रण र रोकथाम) ऐन २०६६ तथा नियमावली महिला विरुद्ध हिंसा रोकथामका लागि ल्याइएका उदाहरणीय कार्य हुन् । राष्ट्रिय महिला आयोगको गठन, अलग्गै महिला मन्त्रालय लगायतका संगठनात्मक कार्यहरूका अतिरिक्त कानून, नीति निर्माणहरूमा पनि सकारात्मक कदम चालेको पाइन्छ ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा पनि विभिन्न महिला हक अधिकार सम्बन्धी व्यवस्था छ ।
महिला हिंसा रोकथामका लागि हाम्रो भूमिका के ?
पहिलो त सबै पुरुषप्रधान समाजको विकृतिबाट मुक्त हुनु पर्दछ । घर परिवार भित्र हुने हिंसा र दुब्र्यहारलाई बुझ्ने र रोक्ने प्रयास गर्ने, हिंसाबाट पीडितलाई परामर्श वा अन्य प्रकारको सहयोग गर्ने, आफूहरुले कहिल्यै कसैलाई दुब्र्यवहार नगर्ने प्रण गर्ने, हिंसा गर्ने व्यक्तिलाई सजाय गराउने, महिलाहरु पुरुषको अधिनमा रहनु पर्छ भन्ने सामाजिक मान्यतालाई परिवर्तन गराउन प्रयास गर्ने जस्ता सामुहिक भूमिकाहरु निर्वाह गर्न सकिन्छ ।
त्यसैगरी हिंसा गर्नु पुरुषको जन्मजात गुण होइन यो त उसले अरुबाट सिकेको कुरा हो भन्ने कुरालाई आत्मसात गरेर, महिलाहरुको कुरालाई पनि सुन्ने र सम्झने प्रयास गरेर, महिलाहरुलाई घरपरिवार भित्र, काम गर्ने ठाउँ र सार्वजनिक ठाउँहरुमा सुरक्षा दिने वातावरण तयार गरेर, अरु पुरुषहरुलाई पनि पुरुषत्व भनेको अरुलाई नियन्त्रण गर्ने शक्ति मात्र होइन मिलेर कार्य गर्ने हो भन्ने भावनाको विकास गराउन सकिन्छ । मादक पदार्थको सेवनबाट टाढा रहने, आवश्यक सरसल्लाह र परामर्शबाट घरेलु कार्य गर्ने, योग ध्यान र स्वस्थ जीवनयापनलाई जीवनको अभिन्न अङ्ग बनाउने यसले गर्दा सकारात्मकता, मानवीयता, सहयोगी र असल आचरणको विकासमा टेवा पुग्दछ । जसबाट खराब कार्यहरुबाट जोगिन सकिन्छ ।
राज्यले राज्यका सबै निकायहरूमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित गरिने प्रयासलाई कार्यान्वयन तहमा सवल बनाउन आवश्यक छ । सबै नागरिक, राजनैतिक दलको प्रतिवद्धता बोली र व्यवहार दुबैमा लागू हुनु आवश्यक छ । हिंसारहित समाजलाई आवश्यक पर्ने सहयोगी संयन्त्रहरूको विस्तार गर्नुपर्दछ । यसरी तयार गरिएका संयन्त्रहरूमा महिलाको सहज पहुँच सुनिश्चित गरिनु पर्दछ । नीति, कार्यक्रम निर्माण र कार्यान्वयन तहमा पनि महिलाहरुको पहुँच बढाउनु पर्ने देखिन्छ । सबै क्षेत्रमा महिलामैत्री वातावरण तयार गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको छ ।











