हेटौंडाः स्वास्थ्य सेवाको क्षेत्रमा क्रियाशील संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईका चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हेटौंडा–१५ का सयफुट, बंगेरी, सानोसुकौली, रातोमाटे, चुरियामाईका ५५ घरपरिवार चेपाङ तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो ।
हिमाल मुटु नेपालले साढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडीलगायत ११ प्रकारका खाद्य सामाग्री हस्तान्तरण गरेको छ । लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोड्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका चेपाङ तथा विपन्न परिवारहरूलाई खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने संस्थाका अध्यक्ष डा. अभन गौतमले बताउनुभयो ।
२०७२ सालको भूकम्पपछि स्थापित हिमाल मुटु नेपालले विपत तथा महामारीमा देशको विभिन्न भागमा राहत सामाग्रीहरु प्रदान गर्दै आईरहेको र निकट भविष्यमै हेटौंडा–६, रामनगरमा १५ शैस्याको सिद्धस्थली ग्रामीण सामूदायिक अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढेको संस्थाकी व्यवस्थापक गोमा गौतमले बताउनुभयो ।
संस्थाले यसअघि हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाहरुमा लकडाउनमा दैनिक ज्यालादारी गरी छाक टार्नुपर्ने परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको संस्थाले जनाएको छ । खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली, हेटौंडा–१५ का वडा अध्यक्ष महारत्न लामा, संस्थाकी सचिव डा. रिया शर्मा, हेटौंडा–१५ की वडा सदस्य कुमारी श्रेष्ठ, नगर कार्यपालिका सदस्य पातलीमाया गोम्बा, वन महासंघका नगर उपाध्यक्ष मिनबहादुर घलानलगायतको उपस्थिति रहेको थियो ।