हेटौंडाः विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न हेटौंडाका १० वटा होटलको सूचि मकवानपुर होटल एसोसिएसनले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई बुझाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न विदेशबाट आएकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नु पर्ने भएपछि क्वारेन्टाइनमा बस्ने व्यक्तिले नै शूल्क बुझाउने गरी होटलमा क्वारेन्टाइन सञ्चालन गर्ने तयारी भइरहेको छ ।
मकवानपुर होटल एसोसिएसनले हेटौंडाको होटल एभोकाडो, होटल सूर्यान्स, रोयल क्राउन होटल, होटल मेघा, होटल तुरही, होटल आशिर्वाद, होटल मयुरी थकाली भान्छाघर, होटल वेलकम, न्यू मंगलम होटल एण्ड लज र होटल चण्डिका छन् । होटल एसोसिएसनले सिफारिस गरेको होटललाई तीन वर्गमा विभाजन गरेको छ । होटल एसोसिएसनले प्रथम श्रेणीका ५८, द्वितीय श्रेणीका १२२ र तृतीय श्रेणीका २५ वटा कोठा उपलब्ध हुन सक्नेछ ।
होटल एसोसिएसनले कुल १९५ वटा कोठा प्रयोग गर्न सकिने जनाएको छ । एउटा कोठामा एक जनाको दरले राख्दा १९५ जना र दुईजनाको दरले राख्दा ३९० जनालाई राख्न सकिने होटल एसोसिएसन मकवानपुरका कोषाध्यक्ष कल्याण पौडेलले जानकारी दिनुभयो । होटल एसोसिएसनले क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा प्रथम श्रेणीको होटलको कोठा सिंगल बेडको २५ सय, डबल बेडको ३५ सय, द्वितीय श्रेणीको होटलमा सिंगल बेड १७ सय, डबल बेडको २५ सय शूल्क प्रस्ताव गरेको छ भने तृतीय श्रेणीको होटलमा सिंगल बेड १२ सय र डबल बेड १८ सय रुपैयाँ शूल्क प्रस्ताव गरेको छ । होटलले प्रस्ताव गरेको शूल्कमा एकदिनको खाना र एक रातको बसाईको शूल्क हुनेछ ।